विभिन्न किसिमका तन्त्र वा ‘क्रेसी’ का शासन स्वरूपहरू

काठमाडाैं । राजनीतिक विज्ञानले शासन व्यवस्थालाई बुझ्न प्रयोग गर्ने सर्वाधिक प्रभावशाली अवधारणाहरू मध्ये ‘क्रेसी’ (cracy) हरू प्रमुख छन् ।
क्राटोस (शक्ति/शासन) मूल शब्दबाट उत्पन्न यी शब्दहरूले राज्यको शक्ति कसरी वितरण हुन्छ, कसले शक्ति प्रयोग गर्छ, राजनीतिक नैतिकता कस्तो हुन्छ, र राज्य समाजको सम्बन्ध कसरी पुनर्गठित हुन्छ भन्ने कुरा व्याख्या गर्छन् ।
विगत कयौँ शताब्दीदेखि मानव समाजले विभिन्न शासन-रूपहरू अनुभव गरेको छ । यी मध्य कसैले स्थायित्व दियो, कसैले दमन र अराजकता जन्मायो, कसैले समानताको सपना देखायो, अनि कसैले केही वर्गलाई मात्र लाभान्वित गरायो । यी शासन रूपहरूको अध्ययन आज पनि अत्यन्त आवश्यक छ, किनभने आधुनिक लोकतन्त्रहरू समेत कतिपय अवस्थामा प्लुटोक्रेटिक, ओलिगार्किक, वा काकिस्टोक्रेटिक प्रवृत्तिबाट ग्रस्त देखिन्छन् ।
यहाँ प्रत्येक शासन रूपको दार्शनिक आधार, ऐतिहासिक विकास, समकालीन व्याख्या, प्रमुख विचारकको उद्धरण, र नेपाली राजनीतिक सन्दर्भमा देखिने समानता वा सम्भावित खतरा विस्तृत रूपमा विश्लेषण गर्न खोजेको छु ।
१. लोकतन्त्र (Democracy): जनशक्ति र वैधताको मूलाधार
अहिले व्यापक रूपमा स्वीकार्य राजनीतिक स्वरूप लोकतन्त्र हो । लोकतन्त्रको आदर्श रूप अरस्तुले आफ्नो ग्रन्थ Politics मा ‘बहुसङ्ख्यक नागरिकद्वारा सर्वहितका लागि शासन” भनेर व्याख्या गरेका छन् । आधुनिक सन्दर्भमा अब्राहम लिङ्कनको प्रसिद्ध परिभाषा “government of the people, by the people, for the people” नेपाली राज्यतन्त्रमा समेत बारम्बार उद्धृत हुन्छ ।
नेपालको संविधान २०७२ को प्रस्तावनाले नै ‘जनताको सार्वभौमसत्ता’ लाई सर्वोच्च शासन सिद्धान्तका रूपमा लिएको छ, जुन आधुनिक लोकतान्त्रिक परम्पराको मूल प्रतिबिम्ब हो ।
यद्यपि, लोकतन्त्र हरेक समय समान रूपमा कार्य गर्न सक्षम हुँदैन । पपुलिस्ट नाराहरू, दलगत हित, कमजोर संस्थागत संरचना, र धन शक्ति प्रवेशले लोकतन्त्रलाई कहिलेकाहीँ भ्रमपूर्ण बनाइदिन्छ । यही कारणले प्रख्यात दार्शनिक टोकेभिलले भनेका थिए कि “Democracy and socialism have nothing in common but one word: equality.”
लोकतन्त्रको मोडेल सुन्दर भए पनि अराजकता, ध्रुवीकरण र बहुमतको अत्याचार (tyranny of majority) को जोखिम सधैँ रहन्छ। नेपालमा २०४८ पछि र विशेषतः २०६२-६३ पछि भएको तीव्र राजनीतिक बहुलताले लोकतन्त्रलाई बलियो बनाएको भए पनि, स्थायित्व र नीति-निर्देशनमा प्राय अनपेक्षित कमजोरी देखिएको छ।
२. प्लुटोक्रेसी (Plutocracy): धन र शक्तिको गठबन्धन
प्लुटोक्रेसी धनाढ्य वर्गद्वारा शासन नियन्त्रण भएको राजनीतिक स्वरूप हो। प्रख्यात आर्थिक विचारक थोमस पिकेट्टीले भनेका छन् “When the rate of return on capital exceeds the rate of growth of output and income, capitalism automatically generates arbitrary inequalities that radically undermine democratic values.” अर्थात् पुँजी र धनको अत्यधिक केन्द्रीकरणले लोकतन्त्रलाई नै विकृति बनाइदिन्छ।
नेपालमा प्लुटोक्रेटिक प्रवृत्ति प्रत्यक्ष रूपमा नदेखिए पनि व्यावसायिक समूह, ठुला ठेकेदार, बैङ्किङ उद्योग, तथा हाइड्रोपावर डनहरूको लबी नीतिको प्रभाव अनुभव हुन्छ । निर्वाचन खर्च अत्यधिक महँगो हुनु, दलीय व्यवस्थाको वित्तीय पारदर्शिता नहुनु, ठुला समूहहरूको बजेट र कानुन निर्माणमा प्रत्यक्ष/अप्रत्यक्ष दबाब हुनु जस्ता कुरा सबै प्लुटोक्रेटिक प्रभावका सङ्केत हुन् । यस्तो शासन प्रवृत्तिमा सार्वजनिक हितभन्दा निजी आर्थिक हित हाबी हुन्छ, जसले जनताको भरोसा कमजोर बनाउँछ ।
३. एरिस्टोक्रेसी (Aristocracy): जन्म, कुलीनता र श्रेष्ठताको राजनीति
एरिस्टोक्रेसी प्राचीन ग्रिसपछि युरोपेली मध्य युगसम्म अत्यधिक शक्तिशाली शासन रूप थियो । प्लेटोले एरिस्टोक्रेसीलाई श्रेष्ठ व्यक्ति वा दार्शनिक राजाहरूको शासन भनेर चित्रण गरेका छन् । तर इतिहासमा यो वंशीय कुलीन वर्गको शासनका रूपमा विकसित भयो ।
नेपालमा एरिस्टोक्रेसी जोडिएको उदाहरण छन्- राणा शासन, शाह वंश, जमिनदार कुलीन वर्ग, काठमाडौँ केन्द्रित उच्च वर्गीय निर्णय संरचना ।
यद्यपि आज नेपालमा औपचारिक एरिस्टोक्रेसी होइन, सामाजिक सांस्कृतिक संरचनामा अझै पनि कुल, वर्ग, पद, र पहुँचले अवसर निर्धारण गर्छन् जसले एरिस्टोक्रेटिक गन्धलाई देखाउँछ ।
४. ओलिगार्की (Oligarchy): थोरै व्यक्तिहरूको निर्णायक शक्ति
ओलिगार्कीमा सीमित व्यक्तिहरू वा समूहले शक्ति नियन्त्रण गर्छन्। अङ्ग्रेज विचारक रबर्ट मिचेल्सले यसलाई “Iron Law of Oligarchy” भनी वर्णन गरेका छन् जसमा “सङ्गठन जतिसुकै लोकतान्त्रिक भए पनि अन्ततः केही व्यक्तिहरूले नै चलाउँछन् । ”
नेपालमा दलगत केन्द्रीय समितिहरू, शीर्ष नेताहरू, तीन चार व्यापारी समूह, र शक्तिकेन्द्र वा भागबन्डा गर्ने विशिष्ट वृत्तहरू ओलिगार्कीका सङ्केत हुन् । लोकतन्त्रको आवरण भए पनि निर्णय थोरै व्यक्तिको “क्लोज्ड सर्कल” ले गर्छ ।
५. टेक्नोक्रेसी (Technocracy): ज्ञान र वैज्ञानिक क्षमताको शासन
टेक्नोक्रेसीमा निर्णय विज्ञ, इन्जिनियर, वैज्ञानिक, अर्थशास्त्री वा विशेषज्ञले लिन्छन् । आधुनिक विश्वमा महामारी, कृत्रिम बुद्धिमत्ता, जलवायु सङ्कट, वा वित्तीय नीतिमा टेक्नोक्र्याटिक भूमिका बढ्दै गएको छ ।
नेपालमा पनि राष्ट्र बैङ्क, योजना आयोग, विद्युत् तथा पूर्वाधार आयोजनाहरू, न्यायिक प्राविधिक सुधारमा टेक्नोक्र्याटिक सोचले प्रभाव पारिरहेको देखिन्छ । तर राजनीतिक निर्देशकमाथि निर्भर हुनुपर्ने भएकाले टेक्नोक्रेसी अपूर्ण रूपमै रहने गरेको छ ।
६. ब्युरोक्रेसी (Bureaucracy): प्रशासनिक शक्ति प्रक्रिया र केन्द्रीकृत शासन
म्याक्स वेबरले ब्युरोक्रेसीलाई “सबैभन्दा तर्कसङ्गत शासन प्रणाली” भनेका थिए किनकि यसमा नियम, पदानुक्रम, दक्षता र पूर्वानुमान योग्यता हुन्छ। तर अत्यधिक प्रक्रियाबाट (Red Tape) ले जनतामा असन्तोष जन्माउँछ।
नेपालमा पनि( ढिलो प्रक्रिया,सानो कामका लागि धेरै कागज, भ्रष्टाचार र ‘सिफारिस संस्कृति’,प्रशासनिक जटिलता,जस्ता समस्या छन्। यी सबैले ब्युरोक्रेसीलाई सशक्त बनाउँछन् तर सुशासनलाई कमजोर पार्छन्।
७. अटोक्रेसी (Autocracy): एक व्यक्तिको पूर्ण शक्ति
अटोक्रेसीमा शक्ति एकै व्यक्तिमा केन्द्रित हुन्छ । निर्णय छिटो हुन्छ तर दमन, अभिव्यक्ति नियन्त्रण र मानवअधिकार हननको जोखिम गम्भीर हुन्छ ।
नेपालमा २०३५-४६ को पञ्चायत, साथै राणा काल यसका ऐतिहासिक उदाहरण हुन् । प्रत्येक अटोक्रेटिक चरणबाट नेपालले सिकेको पाठ भनेको शक्तिको केन्द्रीकरणले अन्ततः जनविद्रोह जन्माउँछ भन्ने हो ।
८. थियोक्रेसी (Theocracy): धार्मिक निर्देशकमाथि आधारित राज्य
थियोक्रेसीमा धर्म नै कानुन र शासनको आधार बन्छ। नेपाल २०६३ अघि “हिन्दु राज्य” भए पनि प्रत्यक्ष थियोक्रेसी भने थिएन। तर धर्मको राजकीय संरक्षण, पूजापाठ वा परम्परामा राज्यको हस्तक्षेप,धार्मिक पदहरूको राजनीतिक प्रभाव थियो। यी थियोक्रेटिक तत्त्वका उदाहरण हुन्। हाल विश्वमा इरान, भ्याटिकन सिटी, अफगानिस्तान ९तालिबान० यसका प्रमुख उदाहरण हुन्। नेपाल अहिले धर्मनिरपेक्ष छ।
९. मेरिटोक्रेसी (Meritocracy): योग्यता आधारित शासन
मेरिटोक्रेसीमा शक्ति, अवसर र पद योग्यता, परीक्षा, क्षमता र प्रदर्शनका आधारमा बाँडिन्छ । चीनको पुरानो “सिभिल सेवा परीक्षा” प्रणाली, सिंगापुरको राज्य–निर्माण, दक्षिण कोरियाको सरकारी सेवामा कडा प्रतिस्पर्धा मेरिटोक्रेसीका उदाहरण हुन् ।
नेपालमा लोकसेवा आयोग मेरिटोक्रेटिक संरचनाको प्रतीक हो । तर समाज-आर्थिक असमानता, पहुँचको अभाव, र शैक्षिक विभेदले मेरिटोक्रेसी प्रायः अधुरो छ ।
१०. क्लेप्टोक्रेसी (Kleptocracy): भ्रष्ट शासकको शासन
क्लेप्टोक्रेसीमा सत्ताधारी समूहले राज्यका स्रोत चोर्न, निजीकरण गर्न, र व्यक्तिगत सम्पत्ति बढाउन शक्ति प्रयोग गर्छ । विश्वका धेरै विफल राष्ट्रहरू, जस्तो कङ्गो, जिम्बावे, उत्तर कोरिया यसका उदाहरण हुन् । नेपालमा प्रत्यक्ष क्लेप्टोक्रेसी नभए पनि ठुला ठेक्का, अनियमितता, सरकारी सम्पत्ति दुरुपयोग, ठुला भ्रष्टाचार प्रकरण छन् । यस्ता घटनाले क्लेप्टोक्रेटिक रोग प्रस्फुटित भएको सङ्केत दिन्छन् ।
११. जेरन्टोक्रेसी (Gerontocracy): वृद्ध नेतृत्वको प्रभुत्व
वृद्ध नेताहरूको दीर्घकालीन राजनीतिक कब्जाले नयाँ पुस्ताको प्रतिनिधित्व कमजोर हुन्छ। नेपालमा दशकौँसम्म उस्तै नेतृत्व दोहोरिनु जेरन्टोक्रेसीको स्पष्ट सङ्केत हो। यसको समस्या नयाँ विचारको अभाव,डिजिटल र विश्व परिवर्तनसँग तालमेल नहुनु, ऊर्जा सङ्कुचन,पार्टी भित्र युवाको अवरोध हो। तर अनुभव, संयमता र राजनीतिक परिपक्वता यसका सकारात्मक पक्ष हुन्।
१२. स्ट्राटोक्रेसी (Stratocracy): सैन्य शासन
सैनिक केन्द्रित शासनमा अनुशासन बलियो हुन्छ तर नागरिक स्वतन्त्रता गम्भीर रूपमा सीमित हुन्छ । नेपालमा प्रत्यक्ष सैन्य शासन नआए पनि २०६२-६३ को माओवादी राज्य द्वन्द्वकाल, राजाको प्रत्यक्ष शासन ९२०६१-६२०, र सेना-राजनीति सम्बन्धले स्ट्राटोक्रेटिक छायालाई कहिलेकाहीँ उजागर गर्छ ।
१३. मोबोक्रेसी (Mobocracy): भीडको आवेगमाथि आधारित शासन
मोबोक्रेसीमा संस्थागत प्रक्रिया भन्दा भीडको भावना बलियो हुन्छ । राजनीतिक हिंसा, अराजक प्रदर्शन, दलगत भिडन्त, तथा आवेगात्मक निर्णयहरू यसको सङ्केत हुन् ।
नेपालको राजनीतिक सङ्क्रमणमा अत्यधिक सडक निर्भरता, भीडद्वारा निर्णय प्रभावित हुने प्रवृत्ति, विधिको शासन बाइपास हुने घटनाका कारण मोबोक्रेटिक जोखिम देखिन्छ ।
१४. कर्पोरेटोक्रेसी (Corporatocracy): ठुला व्यावसायिक शक्तिको नियन्त्रण
ठुला उद्योगपति वा बहुराष्ट्रिय कम्पनी नीति निर्माणमा निर्णायक शक्ति भएको अवस्था कर्पोरेटोक्रेसी हो । नेपालमा बजेटमा उद्योग समूहको प्रभाव, कर छुट र विशेष सुविधा, बैङ्कमा हाइड्रो इलाइटको राजनीतिक पहुँच जस्ता कुरा कर्पोरेटोक्रेटिक सङ्केत हुन् ।
१५. काकिस्टोक्रेसी (Kakistocracy): अयोग्य र अनैतिकहरूको शासन
सबैभन्दा खतरनाक शासन काकिस्टोक्रेसी हो, जहाँ अयोग्य, अनैतिक, भ्रष्ट, र गैर जिम्मेवार व्यक्तिहरू सत्तामा पुग्छन् । यद्यपि नेपाल पूर्ण काकिस्टोक्रेसी होइन, तर अयोग्य नियुक्ति, मन्त्रिमण्डल गठनमा भागबन्डा, र दक्षताको सट्टा निष्ठारसंरक्षणवादलाई प्राथमिकता दिने प्रवृत्ति काकिस्टोक्रेटिक छाँयाको सङ्केत हो ।
संक्षेपमा भन्दा नेपालमा “क्रेसी” हरूको मिश्रित छाया छ। नेपाल एक औपचारिक लोकतन्त्र हो । तर व्यवहारमा प्लुटोक्रेसी, ओलिगार्की, कर्पोरेटोक्रेसी, जेरन्टोक्रेसी, काकिस्टोक्रेसी जस्ता प्रवृत्तिहरू समय समयमा देखिन्छन् ।
यिनलाई नियन्त्रण गर्न विधिको शासन, पारदर्शिता, प्रतिस्पर्धात्मकता, योग्यता आधारित नियुक्ति र नागरिक जागरण अत्यन्त आवश्यक छ ।
श्रोत: आइएनएस-स्वतन्त्र समाचार








प्रतिक्रिया