आर्बाका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गरिँदै

गण्डकी । पोखरा महानगपालिका-१३ स्थित आर्बा प्राकृतिक रूपमा आकर्षक र ऐतिहासिक महत्त्व बोकेको क्षेत्र भएकाले यहाँका धार्मिक स्थललाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न थालिएको छ । करिब एक सय वर्षभन्दा पुरानो इतिहास रहेको यस क्षेत्रको संरक्षणसँगै धार्मिक पर्यटन प्रवर्द्धन गर्न थालिएको हो ।
उत्तरपूर्वका दन्तेलहर जस्तै टलक्क टल्कने हिमाल, दक्षिणपश्चिममा पोखरासहित लेखनाथका टाढाटाढासम्मका भूभाग आर्बाको महाप्रभुधामबाट देख्न सकिन्छ । समुन्द्री सतहबाट एक हजार ३३५ मिटर उचाइमा अवस्थित यसस्थान प्राकृतिक रूपमा आकर्षक हुनुका साथै ऐतिहासिक र धार्मिक महत्त्व बोकेको छ ।
महाप्रभुधाम संरक्षण समितिका संरक्षक स्वामी दिनदयालजी महाराजका अनुसार एक सय वर्षभन्दा अघि यहाँ स्वर्गद्वारीबाट हंश महाराजका चेला कपिलदेव महाराजले एक महिनासम्म ठूलो महायज्ञ लगाउनुभएको थियो । उक्त अवसरमा यहाँ अखण्ड हवनसँगै गौदानलगायत विभिन्न किसिमका अनुष्ठानहरू एक साथ गरिएको इतिहास रहेको उनले जानकारी दिए ।
‘यहाँ महायज्ञ गरी सिद्धी प्राप्त गरेको स्थान भएकाले यस क्षेत्रको विशिष्ट महत्त्व छ’, स्वामी दिनदयालजीले भने, ‘यो ठूलो धार्मिक महत्त्वको तीर्थस्थल हो । महाप्रभुधामसँगै यहाँ नजिकै रहेको मणिद्विपले पनि विशिष्ट धार्मिक महत्त्व बोकेको छ ।’ पाल्पाका तत्कालीन राजा मणिमुकुन्द शेनले स्थापना गरेको मणिद्विपको संरक्षणसँगै पर्यटन प्रवर्द्धनमा पहल थालिएको उनले जानकारी दिए ।
‘यहाँका धार्मिक महत्त्वका सम्बन्धमा विभिन्न किंवदन्ती पनि छन् । एक किंवदन्ती अनुसार यहाँ नजिकै रतन पाण्डे मन्दिर र महाप्रभुधामको बीच भागमा प्राचीन कालमा एउटा पोखरी थियो । धार्मिक महत्त्वको उक्त पोखरीमा रुखका पात खस्नासाथ चराले टिपेर लैजान्थ्ये । यस्ता विभिन्न किसिमका किंवदन्तीले पनि यहाँको ऐतिहासिक महत्त्वलाई झल्काउने बुढापाकाहरू बताउँछन्’, स्वामी दिनदयालजीले भने ।
करिब एक सय वर्षअघि महाप्रभुहरूले महायज्ञ सञ्चालन गर्दा निर्माण गरिएको हवन कुण्डले पनि यहाँको ऐतिहासिकतालाई थप प्रष्ट पार्ने महाप्रभुधाम रतन पाण्डे पर्यटकीय क्षेत्र विकास समितिका अध्यक्ष नवराज बरालले उल्लेख गरे । समितिले यहाँको ऐतिहासिकता एवम् धार्मिक महत्वलाई उजागर गर्ने उद्देश्यले विकासका क्षेत्रमा योजनाबद्ध काम गरिरहेको उनले बताए ।
उक्त समयको ऐतिहासिकताको जीवन्त साक्षी हवन कुण्डसहित धार्मिक महत्त्वका गुफा, गणेश तथा शिवजीको मन्दिर, रतन पाण्डेथानको संरक्षणसँगै प्रचारप्रसार गरी पर्यटन प्रवर्द्धनमा सििमति अघि बढेको उनको भनाइ छ ।
पोखराको महेन्द्रपुलबाट आधा घण्टाभित्रै सवारीसाधनबाट पुग्न सकिने महाप्रभुधामसहित यहाँका विभिन्न स्थानहरूबाट माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमाल, दक्षिणतर्फ पोखराको मनमोहक दृश्य एकसाथ अवलोकन गर्न सकिने समितिका उपाध्यक्ष सूर्यप्रसाद बरालले जानकारी दिए । धार्मिक पर्यटनका दृष्टिले आर्बा सम्भावना बोकेको क्षेत्र भएकाले यस ठाउँको प्रवर्द्धन अपरिहार्य रहेको उनको भनाइ छ ।
महाप्रभुधामसँगै यहाँ रहेका मणिद्विप, रतन पाण्डेको मन्दिरलगायत स्थानलाई समेटेर धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नेतर्फ आँफूहरू लागिरहेको समितिका सचिव भोजराज बरालले बताए ।
महाप्रभुधाम नजिकै रहेको रतन पाण्डे मन्दिर यहाँको अर्को धार्मिक महत्त्वको स्थानका रूपमा चिनिएको उक्त मन्दिर संरक्षण समितिका अध्यक्ष घनश्याम बरालले उल्लेख गरे । यसको थप प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रवर्द्धन गर्न सबैको सहकार्य र समन्वय आवश्यक पर्नेमा उनले जोड दिए ।
उनका अनुसार रतन पाण्डे मन्दिरमा प्रत्येक वर्ष धान रोप्ने र भित्र्याउने समयमा यहाँका स्थानीयले श्रद्धाभक्तिपूर्वक पूजाआजा गर्दछन् । रतन पाण्डेको पूजाका दिन आर्बा क्षेत्रमा हलो नचल्ने प्रचलन प्राचीन समयदेखि रहिआएको उहाँले जानकारी दिए ।
पछिल्ला समयमा महाप्रभुधाम र मणिद्विपमा प्रत्येक वर्ष बालाचतुर्दशीका दिन ठूलो मेला लाग्ने तथा शतबीज छर्ने प्रचलन रहेको समाजसेवी शिरोमणि बरालले जानकारी दिए । उनका अनुसार आर्बामा बस्ती स्थापना हुँदा गाउँको पूर्वमा मणिद्विप नागेश्वर महादेव स्थापना गरिएको थियो ।








प्रतिक्रिया