आइतबार, पुष ६, २०८२

‘उच्च शिक्षा विकासमा नेपाल–नर्वेको सहकार्य निरन्तर हुन्छ’

नेपालखोज २०८२ मंसिर ५ गते ७:४४

कर्णाली । नेपालका लागि नर्वेका राजदूत डाग्नी म्योसले उच्च शिक्षा विकामा नेपाल–नर्वेको सहकार्य निरन्तर हुने बताएका छन् ।मध्यपश्चिम विश्वविद्यालयद्वारा बिहीबार सुर्खेत वीरेन्द्रनगरमा आयोजित ‘खुला संसद् र नागरिक सहभागितासम्बन्धी अन्तर संवाद’ कार्यक्रममा राजदूत म्योसले दुई देशबीच शैक्षिक विकासमा हुने सहकार्यले थप उचाइ प्राप्त गर्ने बताए । उनले भने, ‘मध्यपश्चिम विश्वविद्यालयको समावेशी शिक्षा प्रवर्द्धनमा सहकार्य हुँदै आएको छ । आगामी दिनमा पनि स्नातक र स्नातकोत्तर तहका कार्यक्रममा सहयोगलाई निरन्तरता दिनेछौँ ।’

शिक्षा क्षेत्रमा विश्वभर विश्वसनीय विकास साझेदारका रूपमा परिचित नर्वेली राजदूत म्योससहित संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रमका नेपालस्थित आवासीय प्रतिनिधि क्योको योकोसुका सम्बद्ध टोलीले मध्यपश्चिम विश्वविद्यालय परिवारसँग पहिलोपटक अन्तर संवाद गर्न पाउँदा खुसी लागेको बताएको छ ।

विश्वविद्यालयका उपकुलपति प्रा डा ध्रुवकुमार गौतमले उच्च शिक्षा विकासका लागि अनुसन्धान तथा क्षमता विकासमा नर्वेजियन कार्यक्रम (नोरहेड–दोस्रो) अन्तर्गत सञ्चालित बिल्डिङ इन्क्लुसिभ एजुकेसन इन नेपाल (बीआइईपिएन) परियोजनाबाट प्राप्त उपलब्धि र प्रभावप्रति उच्च प्रशंसा व्यक्त गरे ।

ओस्लोमेट–ओस्लो मेट्रोपोलिटन विश्वविद्यालयको नेतृत्वमा इनल्यान्ड नर्वे युनिभर्सिटी अफ एप्लाइड साइन्सेज, त्रिभुवन विश्वविद्यालय र मध्यपश्चिम विश्वविद्यालयको साझेदारीमा अघि बढाइएको यो प्रमुख परियोजनाले समावेशी शिक्षा तथा विशेष शिक्षाका क्षेत्रमा शैक्षिक र संस्थागत क्षमता अभिवृद्धिमा महत्त्वपूर्ण योगदान गरेको उपकुलपति प्रा डा गौतमले बताए।

समावेशी र समान शिक्षा सुनिश्चित गर्न दिगो विकास लक्ष्य ४ र १० सँग मेल खाने अन्तर्राष्ट्रिय सहकार्यलाई उपकुलपति प्रा डा गौतमले उत्कृष्ट नमूनाका रूपमा प्रस्तुत गरे ।

मध्यपश्चिम विश्वविद्यालयले २०२६ मा अन्तर्राष्ट्रिय समावेशी शिक्षा सम्मेलन आयोजना गर्ने तयारीका साथै नर्वेजियन साझेदारहरूसँग संयुक्त परियोजना तथा शैक्षिक आदानप्रदानका नयाँ सम्भावना खोज्न इच्छुक रहेको उनको भनाइ थियो ।

उपकुलपति प्रा डा गौतमले नेपाल र नर्वेबिचको सम्बन्ध मित्रता एवं सहयोगपूर्ण र परस्पर सम्मानमा आधारित भएको बताउँदै मानव विकास सूचकाङ्कका हिसाबले निकै पछि परेको कर्णालीको उच्च शिक्षा विकासमा मध्यपश्चिम विश्वविद्यालयले नेतृत्वदायी भूमिका खेलेको जनाए ।

सन् १९७३ मा दुई मुलुकबिच औपचारिक रूपमा कूटनीतिक सम्बन्ध स्थापना भएयता नर्वे नेपालका लागि शिक्षा, मानवअधिकार, ऊर्जा तथा वातावरण संरक्षणका क्षेत्रमा सहकार्य गर्दै आएको एक विश्वासिलो विकास साझेदार देश भएकाले पनि नर्वेली राजदूत म्योसले विश्वविद्यालयसँग गरेको अन्तर संवादलाई अर्थपूर्ण रूपमा लिएको नोरहेड–दोस्रो परियोजना संयोजक एवं मध्यपश्चिम विश्वविद्यालय योजना, विकास तथा अनुगमन निर्देशनालयका कार्यकारी निर्देशक डा विष्णुकुमार खड्काले जानकारी दिए ।

उक्त अन्तर संवाद कार्यक्रममा विश्वविद्यालयका रजिष्ट्रार प्रा डा शोभाखर कँडेल, अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका कार्यकारी निर्देशक डा यदुप्रसाद ज्ञवालीले विश्वविद्यालयको संक्षिप्त जानकारी, यसले सञ्चालन गर्दै आएका कार्यक्रम तथा शैक्षिक उपलब्धिका बारेमा प्रस्तुति राखेका थिए ।

प्रतिक्रिया