आइतबार, पुष ६, २०८२

झापा र मोरङमा मानव-हात्ती द्वन्द्वको जोखिम बढ्यो

नेपालखोज २०८२ मंसिर ६ गते १०:५९

झापा ।नेपाल भित्रिएका २५ देखि ३० वटा हात्तीको बथान लामो अवधिसम्म झापा र मोरङको जङ्गली क्षेत्रमा बसेपछि मानव-हात्ती द्वन्द्वको जोखिम बढेको छ ।

वन्यजन्तु संरक्षणमा चासो दिइरहेकाहरूले पहिल्यैदेखि यी दुई जिल्लाको जङ्गलमा घटीमा ३० वटा रैथाने हात्ती रहेको बताउँदै आएका छन् । अब फेरि हात्ती थपिएपछि मानवसँग द्वन्द्व बढ्ने त्रास उत्पन्न भएको हो ।

गत साता मोरङको सुन्दरहरैचा क्षेत्रको जङ्गलबाट पूर्वतर्फ लागेका २५ देखि ३० वटा हात्तीको लस्कर पूर्वी गौडा बाहुनडाँगी हुँदै भारततिर लाग्ने सम्भावना देखिएको थियो । ती हात्तीको बथान दुई वर्ष अघि बाहुनडाँगी गौडाबाटै नेपाल भित्रिएका थिए ।

डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले मोरङबाट झापाको रतुवामाई वृक्षरोपणको जङ्गल क्षेत्रसम्म आइपुगेका हात्तीको बथान छिन्नभिन्न भएर ठूलो सङ्ख्या मोरङतिरै फर्किसकेको र अरु दुई झुण्ड झापाको जङ्गलतिरै बरालिरहेको जानकारी दिए ।

सीमित क्षेत्रफलको जङ्गलमा लगातार हात्तीको सङ्ख्या थपिदै जाँदा मानव-हात्ती द्वन्द्व स्वतः बढिरहेको छ । जङ्गलमा हात्तीका लागि त्रासरहित बास र पर्याप्त आहार छैन । भोकाएर हात्तीको बथान गाउँबस्तीतिर प्रवेश गर्ने हुँदा त्यसको मार जङ्गल छेउका बासिन्दाले व्यहोरिरहेका छन् ।

चरा तथा वन्यजन्तु संरक्षण समाजका अध्यक्ष देवेन्द्र खरेलले मोरङको जङ्गलबाट पूर्व लाग्नेबित्तिकै हात्तीको बथान सरासर हिँडेर भारततिरै जान्छ भन्ने सोचाइ गलत भएको बताउछन् ।

भारतको आसामदेखि पश्चिम बङ्गालको सुकुना हुँदै नेपाल भित्रिने बथानका हात्तीले पुस्तौँदेखि निरन्तर ओहोरदोहोर गरिरहेको उनी बताउछन् । हाल झापा र मोरङमा आहारका लागि धान, मकै र केरा पर्याप्त भएकाले हात्तीहरू भारततिर नगएको हुनसक्ने उहाँको भनाइ छ ।

झापामा बथान छुट्टिएका हात्तीसँग दमकको हम्सेदुम्से र शिवसताक्षी क्षेत्रमा स्थानीयवासीको जम्काभेट हुन थालेको छ । बथानमा रहेका हात्ती दिनभरि बाक्लो बन क्षेत्रमा बास बस्ने र दिउँसो आहाराको खोजीमा हिँड्ने गर्छन् । जङ्गलमा दाउरा लिन र गाईबस्तु चराउन जानेहरू हात्तीको आक्रमणमा पर्ने उच्च जोखिम छ ।

रैथाने हात्तीको तुलनामा बसाई सरी आएका बथानका हात्ती कम आक्रामक हुने गरेको खरेल बताउछन् ।

उनले जनावर भएकाले हात्तीलाई जिस्काउने, आगो झोस्ने र बिथोल्ने गतिविधि गर्दा नै मानवीय क्षति निम्तिने गरेको बताउनुभयो । जङ्गलमा खाने आहारको कमीले भोकाएका हात्तीहरू मान्छेको खेतीपाती र बस्तीतिरै पस्ने भएकाले हात्तीको सङ्ख्या बढेसँगै मानव–हात्ती द्वन्द्व बढ्ने सम्भावनालाई मध्यनजर गरेर आमजनसमुदाय र सरोकारवाला निकायहरूले आवश्यक सावधानी अपनाउनु पर्ने उनको सुझाव छ ।

प्रतिक्रिया