आइतबार, पुष ६, २०८२

विराटनगरमा महेश बस्नेत चढेको गाडीमाथि मसी प्रहार

नेपालखोज २०८२ मंसिर ७ गते १२:५६

काठमाडाैं । नेकपा (एमाले) नेता महेश बस्नेत चढेको गाडीमाथि विराटनगरमा एक युवाले मसी छ्यापेका छन् । बस्नेतको गाडी गुडिरहेका बेला अचानक एक युवक दौडेर आई गाडीमा मसी फयाँकेका थिए ।

काठमाडौंबाट विराटनगर विमानस्थल हुँदै सुनसरीको कार्यक्रममा सहभागी हुन जाने क्रममा उनलाई विमानस्थलअगाडि मसी भरिएको लोला प्रहार भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी कोपिला चुडालले जानकारी दिइन ।

लोला प्रहार गर्ने क्रममा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेहरूमा वर्ष १९ को अर्पित कुँवर र वर्ष २५ को संजोग गौतम रहेको प्रहरीले जनाएको छ ।

बस्नेतले आफूमाथि मसी प्रहार गर्ने घटनाप्रति आपत्ति जनाएका छन्। त्यसबारे बस्नेतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया जनाउँदै त्यसलाई ‘गम्भीर र निन्दनीय’ भनेका छन् ।

लोकतन्त्रमा विरोध-प्रदर्शनको मर्यादा हुने उल्लेख गर्दै शान्तिपूर्ण रूपमा सभा-जुलुस गर्ने तथा देशभर स्वतन्त्र रूपमा आउजाउ गर्ने हक सबै नागरिकको अधिकार भएको स्मरण गराएका छन् ।

घटनापछि प्रहरीले देखाएको तत्परताप्रति उनले धन्यवादसमेत व्यक्त गरेका छन् ।

प्रतिक्रिया