खोटाङमा थपिए तीन हजार ९८५ मतदाता

खोटाङ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरेर खुला गरिएको मतदाता नामावली सङ्कलन अभियानका क्रममा खोटाङका तीन हजार ९८५ जनाले आफ्नो नाम फोटोसहितको मतदाता नामावलीमा दर्ता गराएका छन् ।
जेनजी आन्दोलनपछि गठन भएको सरकारले दिएको निर्देशनअनुसार निर्वाचन आयोगले गत असोज ९ गतेदेखि देशभर सञ्चालन गरेको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक अभियानका क्रममा खोटाङका एक हजार ९२३ महिला र दुई हजार ६२ पुरुषले आफ्नो नाम मतदाता नामावलीमा दर्ता गराएका हुन् ।
जिल्ला निर्वाचन कार्यालयका अनुसार फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउने नयाँ मतदातामध्ये अधिकांश युवा छन् ।
जिल्लामा मतदाता नामावली दर्ता गराउने अधिकांश १६ देखि २५ वर्ष उमेर समूहको रहेको निर्वाचन कार्यालयले जनाएको छ । यही मङ्सिर ५ गतेसम्म थपिएका नयाँ मतदातामध्ये कार्यालयमा आएर एक हजार २०३ जना र राष्ट्रिय परिचयपत्रका आधारमा दुई हजार ७८२ जनाले फोटोसहितको मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख रविन मगरले जानकारी दिए ।
जिल्लामा यसअघि कायम भएका एक लाख ४४ हजार ४२९ मतदातामध्ये ८१० मतदाताले अन्तर जिल्ला मतदान केन्द्र कायम गरिदिन माग गर्दै कार्यालयमा निवेदन दिएको जिल्ला निर्वाचन अधिकारी मगरले जानकारी दिए । यस्तै, नयाँ मतदाता नामावली दर्ताका लागि २७० मतदाताले बाहिर फाराम भरे पनि बायोमेट्रिक गर्न कार्यालय नआएको जनाइएको छ । –रासस








प्रतिक्रिया