सोमबार, मंसिर २२, २०८२

नेपालको वर्तमान अवस्था !

डा. अम्बिका शर्मा  २०८२ मंसिर ८ गते १५:४९

नेपालको वर्तमान अवस्थालाई सरल रूपमा लिन सकिँदैन र यसै विषयलाई लिएर  एकाध रूपमा सामाजिक सञ्जालमा झुल्किन पुगेका स्व घोषित विद्वान विश्लेषकहरूले त नेपाल असफलता उन्मुख राष्ट्र हो भनेर घोषणा नै गरिसकेका छन् । राष्ट्रको हालको अवस्था असफल नभई एक कठिन सङ्क्रमणको अवस्था रहेको र यो अवस्था भनेको राष्ट्रको पुनर्जन्मको एक पीडादायी र जोखिमपूर्ण अवस्था हो।

नेपाललाई “असफल राष्ट्र” भन्नु भनेको घटनालाई अत्यन्तै कठोर रूपमा हेर्नु हो। यथार्थमा नेपाल एउटा गहिरो आन्तरिक सङ्घर्ष तर्फ उन्मुख भई रहेको अनुभव गर्न सकिन्छ । सन् २०२५ को सेप्टेम्बरमा भएका युवा-प्रेरित विरोध प्रदर्शनहरू लाई केवल राजनीतिक घटनाका रूपमा मात्र लिन सकिँदैन ।यो त एउटा सामूहिक निराशाको चिच्याहट थियो जुन पछाडि गएर हिंसात्मक रूपमा परिवर्तित भयो ।

वास्तवमा यसरी सडकमा रहेको प्रदर्शनकारीहरूको मनोदशा भनेको नेपालको संविधान २०७२ले  स्थिरता, समृद्धि र जबाफदेही शासनका सन्दर्भमा दिएको ठुलो प्रतिबद्धता नै थियो, जुन लामो समय सम्म पनि अधुरै रहन गयो । जसले गर्दा काठमाडौँको राजनीतिक अभिजात वर्ग र आम नागरिकबिचको खाडलको दुरी अत्यन्तै गहिरो रूपले विभाजन हुन पुग्यो ।

समाज चलिरहेको छ, मानिसहरू काममा गई रहेका छन्  र समुदायले एक अर्कालाई सहयोग गरिरहेका छन् , यद्यपि यो अवस्था भनेको गहिरो राजनीतिक र आर्थिक अस्थिरताको प्रतिविम्ब हो । भर्खरैका विरोध प्रदर्शनहरू त अन्तर्निहित समस्याको लक्षण मात्र हुन यसको निदानको लागि सूक्ष्म तवरले अध्ययन गरी सही दिशा निर्देश गरिनु पर्दछ । अन्यथा यथा स्थितिमा नै रहन पुगेमा फेरी अर्को ८/१० वर्षमा अर्को विरोधको ज्वार भाटा यो भन्दा पनि ठुलो रूप लिएर प्रकट नहोला भन्न सकिँदैन ।

नेपालको राजनीति वर्षौँदेखि एउटा ‘म्युजिकल चेयर’ को खेल जस्तै भएको र सरकारको परिवर्तन  विचारधाराको आधारमा होइन, गोप्य सम्झौता र दल विभाजनको माध्यमले हुने गर्‍यो । यसले गर्दा नयाँ सरकारले अक्सर अघिल्लो सरकारको परियोजनाहरू लाई त्याग्ने र पहिलेको विकासको क्रियाकलापलाई  निरन्तरता नदिने जस्ता कार्यहरू छता छुल्ल रूपमा देखिन थाल्यो र नेताहरुले आफूलाई भ्रष्ट्राचारको विरोधी देखाउन राज्यको अङ्गहरूको चरम दुरुपयोग गरी विरोधी सिध्याउने अस्त्रको रूपमा मात्र प्रयोग गरे ।

 यसरी दण्डहीनताको संस्कृति मौलाउँदै गर्दा सम्बद्ध व्यक्ति र राजनीतिज्ञहरू जनताका नजरमा जबाफदेही रूपले प्रकट हुन सकेनन्, जसबाट आम समुदायमा गहिरो निराशाको जन्म भयो  । नीतिभन्दा व्यक्तित्व प्रधान रहन गयो जहाँ राजनीति केही परिचित अनुहारहरूको नियन्त्रणमा पुग्न गयो जसले गर्दा नयाँ विचारधारा भएका नयाँ युवा नेताहरूले दल भित्र नै निषेधको सामना गर्नु पर्‍यो ।

राज्यका सबैभन्दा महत्त्वाकाङ्क्षी र शिक्षित युवाहरू ठुलो सङ्ख्यामा ब्रेन ड्रेन का रूपमा बिदा भई रहेका छन् । यसरी बिदेसिनुको कारण केवल रोजगारी मात्र होइन । भविष्यको लागि कुनै आशा दिन नसक्ने प्रणालीको एउटा विनाशकारी चक्र सिर्जना हुन गई देशले पुनर्निर्माणको लागि आवश्यक प्रतिभा नै गुमाउने स्तरमा पुगिसकेको अवस्थामा यो अवस्थाले गत सेप्टेम्बरको विरोध प्रदर्शनको लागि सबैभन्दा शक्तिशाली इन्धन को स्वरूप धारणा गर्‍यो ।

यहाँ प्रवासी आय लाई रेमिटेन्सको नामकरण गरी सिँगार पटार गरियो र प्रचार गरियो तर राष्ट्रको लागि यो एउटा दुवै तिर धार भएको तरवारको रूपमा देखा पर्‍यो । विदेशमा काम गर्ने नेपालीहरूले पठाउने रकमले अर्थतन्त्रलाई एउटा हद सम्म स्थिरता दिन्छ , तर यसले सृजना गर्ने गहिरो समस्याहरूलाई नराम्ररी उछाल्छ ।

यसरी· “तपाईँले कसलाई चिन्नुहुन्छ”  वाट सृजना भएको अर्थतन्त्रका भरमा बस्नेहरूको लागि, राष्ट्रको सफलता भनेको प्रायः योग्यता वा राम्रो व्यावसायिक विचारभन्दा पनि आ आफ्नो सञ्जाल वा गुटमा निर्भर हुन पुगी अन्ततः नवीनतालाई दबाउन पुगेको प्रशस्तै उदाहरणहरू पाइन्छन् ।

रेमिटेन्स माथिको अधिक निर्भरताले घरेलु रोजगारी सिर्जना गर्नुको सट्टा पर निर्भरता सिर्जना गरिरहेको र यस वाट परिवारहरूले त  गुजारा चलाउँछन् नै  तर राष्ट्र निर्माण गर्न किमार्थ सकिँदैन ।

राज्यले  आशाको अर्थतन्त्र निर्माण गर्नु पर्दछ , निराशाको होइन ।व्यवसायीको गुमेको आत्मविश्वास पुनर्स्थापना गर्न र पूर्ण आर्थिक पक्षाघात रोक्नको लागि  भवन भन्दा, भवन निर्मातामा लगानी गर्न सक्नुपर्दछ । दीर्घकालीन सुधार गरी हाल देखिएका  बाधाहरू हटाई व्यावसायिक वातावरण तयार गरिनु पर्दछ। राज्यले ठुला कङ्क्रिट जन्य पूर्वाधारमा राज्यको श्रोत खन्याउने होइन पर्यटन, कृषि, र आइटी जस्ता रोजगारी मूलक क्षेत्रहरूमा लगानी केन्द्रित गरी योग्यताको आधारमा प्रतिभा र परिश्रमलाई मूल्य दिइने संस्कृति सिर्जना गर्न सक्नु पर्दछ ।

निष्कर्ष:

वर्तमान सङ्कटले पुरानो प्रणालीको असफलतालाई देखाउँदै छ, तर यसले देशको भविष्यको लागि मार्ग चित्र प्रस्तुत गर्न भने सकिरहेको छैन ।यसरी राष्ट्र गम्भीर तथा निर्णायक मोडको उभिएको समयमा देखा परेका एउटा बाटोले अस्थिर स्थिति-प्रतिस्थापनतिर फर्कने मार्ग देखाई रहेको छ भने  अर्को, तर्फको कठिन बाटोले हालको अवस्थालाई अवसरको रूपमा स्वीकार गरी आफ्ना युवाहरूको आवाज सुनी सक्षम उत्तरदायी राज्य निर्माण गरी बाटो बिराएको राजनीति रुपी रेललाई ट्र्याक मा ल्याउनु पर्ने देखिन्छ ।

प्रतिक्रिया