शनिबार, पुष ५, २०८२

सुशासन प्रवर्द्धन र निर्वाचनको अभिभारा पूरा गर्ने सरकारको मुख्य जिम्मेवारी: गृहमन्त्री

नेपालखोज २०८२ मंसिर ९ गते १५:५७

लुम्बिनी । गृहमन्त्री ओमप्रकाश अर्यालले सुशासन प्रवर्द्धन गर्दै निर्वाचन सम्पन्न गर्ने अभिभारा वर्तमान सरकारको रहेको बताएका छन् । उनले सुशासन प्रवर्द्धन र निर्वाचनको अभिभारा पूरा गर्ने मुख्य जिम्मेवारीलाई मूलमन्त्र मानेर वर्तमान सरकारले काम गरिरहेको बताए ।

लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीलाई आज भैरहवामा सम्बोधन गर्दै गृहमन्त्री अर्यालले सरकारले त्रासदीपूर्ण अवस्थालाई पार लगाउँदै सुरक्षाको अवस्थालाई सामान्य बनाउन सफल भएको र अब चुनाव गरेर नेतृत्व हस्तान्तरण गर्ने जिम्मेवारी आफूहरुको काँधमा रहेको बताए । उनले विभिन्न बहाना बनाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भनेर सार्वजनिक खपतका कुरा गर्नेहरुलाई कामले जवाफ दिने बताए ।

विभिन्न बहाना देखाएर चुनाव हुँदैन भन्ने र गर्न सक्दैनन् भन्ने कुराहरु कहीँ कतै सुनिएका छन्, उनले भने, सार्वजनिक खपतका लागि बोलिएका यस्ता विषयलाई सरकारले आफ्नो काम र भूमिकाबाट जवाफ दिन्छ र दिइरहेको छ ।

राजनीतिक दलहरुले लुटिएका हतियार र फरार कैदी बन्दीलाई प्रमुख सुरक्षा चुनौतीका रुपमा औँल्याएको सन्दर्भमा गृहमन्त्री अर्यालले भने, हामीले धेरै परिमाणमा विशेष अपरेसनमार्फत ती हतियार फिर्ता ल्याइसकेका छौँ, ठूलो सङ्ख्यामा कैदी पनि फिर्ता भइसकेका छन् ।

गृहमन्त्री अर्यालले आफूहरु सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखी जेनजी युवाबाट गत भदौ २३ र २४ गते भएको प्रदर्शनपश्चात् विषम परिस्थितिमा निर्माण भएको सरकारको जिम्मेवारीमा आएको बताए । वर्तमान सरकार कसैको निगाहामा बनेको होइन, हामी कुनै अपेक्षाले आएका होइनौँ र हाम्रो व्यक्तिगत इच्छाले आएका होइनौँ, उनले भने, देशको विशिष्ट अवस्थामा, शून्यतालाई पूरा गर्न परिस्थितिले विशेष जिम्मेवारी सुम्पेको हुँदा त्यसका लागि आएका हौँ ।

शान्ति र अहिंसाको सन्देश दिन प्रदेशस्तरीय सुरक्षा गोष्ठीको सुरुआत बुद्ध जन्मस्थल लुम्बिनीबाट गरिएको गृहमन्त्री अर्यालले बताए । गोष्ठीबाट प्रदेश सरकारले सुदृढ सुरक्षा योजना बनाउने अपेक्षा लिएको उनको भनाइ छ । गृहमन्त्री अर्यालले लुम्बिनी प्रदेश राजस्व चुहावटको दृष्टिले जोखिममा रहेको उल्लेख गर्दै सुशासनको जगमा बनेको यो सरकारले चुहावट नियन्त्रणमा शून्य सहनशीलताको नीति अवलम्बन गरेको बताए ।

सुरक्षा क्षेत्रमा पनि आमूल परिवर्तनको आवश्यकता औँल्याए । आन्दोलनका नाममा व्यक्तिगत सम्पत्ति जलाउनेलाई कानुनी दायरामा ल्याउन सङ्घीय सरकार गम्भीर हुनुपर्ने उनले बताए । मुख्यमन्त्री आचार्यले सुशासन कायम गर्ने र भ्रष्टाचार न्यूनीकरण गर्ने अभियानमा नै प्रदेश सरकार रहेकाले स्पष्ट पारे ।

सरकारको नेतृत्व सम्हाल्दा गरेका सङ्कल्प र अठोट पूरा गर्नेगरी काम अघि बढेका छौँ । सुशासन प्रवद्र्धन र भ्रष्टाचार न्यूनीकरणको रणनीति बनाएर काम गरिरहेका छौँ, मन्त्रीहरूलाई आचारसंहिता लागू गरेका छौँ, उनले भने, पूर्व विशिष्टका सेवा–सुविधा खारेज गरेर अघि बढेको यही सरकार हो ।

कार्यक्रममा गृहसचिव रामेश्वर दङ्गाल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल र १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला प्रहरी प्रमुखहरू सहभागी गोष्ठीमा लुम्बिनी प्रदेशको सुरक्षा चुनौती संश्लेषण गर्ने, निर्वाचनका लागि आवश्यक रणनीति तयार गर्ने गरी सुरक्षा तयारी गर्नेछ ।

प्रतिक्रिया