शनिबार, पुष ५, २०८२

दक्षिण अफ्रिकाद्वारा जी–२० को नेतृत्व अमेरिकालाई हस्तान्तरण

नेपालखोज २०८२ मंसिर १० गते २०:०९

जोहानेसबर्ग । दक्षिण अफ्रिकाको अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग विभाग (डिआइआरसिओ) ले औपचारिक रुपमा संयुक्त राज्य अमेरिकालाई जी–२० को अध्यक्षता हस्तान्तरण गरेको दक्षिण अफ्रिकी प्रसारण निगम (एसएबिसी) ले जनाएको छ ।

‘दक्षिण अफ्रिकाबाट अमेरिकालाई जी–२० को अध्यक्षता हस्तान्तरण प्रिटोरियामा भएको छ, तर यो गोप्यरूपमा भएको छ,’ एसएबिसीले जनाएको छ ।

‘विदेश मन्त्रालयले हस्तान्तरणमा सहभागी अधिकारीहरूको पहिचान खुलाएको छैन,’ एसएबिसीले अगाडि भनेको छ। एसएबिसीले अफ्रिकी विदेशमन्त्रालयको एक स्रोतलाई उद्धृत गर्दै भनेको छ ‘अमेरिका धेरै ठूलो तामझामसहित हस्तान्तरण कार्यक्रम गर्न नचाहेका कारण यो गोप्य भएको छ । यो केवल दक्षिण अफ्रिकी मुद्दा थिएन ।’

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसाले आइतबार जोहानेसबर्गमा जी–२० शिखर सम्मेलनको औपचारिक समापन गरेका थिए ।

संयुक्त राज्य अमेरिकाले दक्षिण अफ्रिकी अश्वेत समुदायमाथि दुव्र्यवहार र ‘नरसंहार’ को आरोप लगाउँदै जी २० शिखर सम्मेलनमा कुनै पनि अमेरिकी अधिकारी नपठाएर दक्षिण अफ्रिकामा भएको शिखर सम्मेलन बहिष्कार गरेको छ ।

अमेरिकी ट्रम्प प्रशासनले आफुमाथि लगाएको आरोपको दक्षिण अफ्रिकाले कडा रूपमा खण्डन गर्दै आएको छ। अमेरिकाले औपचारिक रूपमा डिसेम्बर १ मा जी–२० समूहको अध्यक्ष पदको कार्यभार सम्हाल्ने कार्यक्रम छ । -रासस/सिन्ह्वा

प्रतिक्रिया