लागूऔषधसहित विभिन्न स्थानबाट २१ जना पक्राउ

काठमाडौं । रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ डण्डा पुलबाट नियन्त्रित लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल र आईपिपिएल ५० एम्पुल सहित २ जनालाई बिहीबार साँझ प्रहरीले प्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत महाराजगंज नौतनवा बस्ने २५ वर्षीय विशाल कुमार यादव र २५ वर्षीय प्रदिप कुमार यादव रहेका छन् । इलाका प्रहरी कार्यलाय बेलहिया समेतबाट खटिएको प्रहरीले बेलहियाबाट भैरहवातर्फ पैदल जाँदै गरेका उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यसैगरी रूपन्देहीको सैनामैना नगरपालिका-८ भडसाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम सहित ३० वर्षीय सुरेन्द्र थारूलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय सालझण्डीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेको जानकी गाउँपालिका-६ भाटनपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम १८० मिलिग्राम र नगद १३ हजार ७५ रूपैयाँ सहित कोहलपुर नगरपालिका-१४ हवल्दारपुर डेरा गरी बस्ने ३८ वर्षीय प्रवेस अहम्दलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले भे.५ प ४१०२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी बाँकेको कोहलपुर नगरपालिका-२ कौशीलानगर बस्ने २८ वर्षीय सागर जिसिलाई लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४० मिलिग्रामसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
चितवनको माडी नगरपालिका-६ रिमाल खोलाको पुलबाट नियन्त्रित लागूऔषध ट्रामाडोल २२ ट्याब्लेटसहित सोही नगरपालिका-७ देवेन्द्रपुर बस्ने २६ वर्षीय आशिष भुजेललाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडीबाट खटिएको प्रहरीले ना.४५ प ७६५८ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उनको घर तलासी गर्दा थप ट्रामाडोल ३ सय ट्याब्लेट फेला पारी प्रहरीले बरामद गरेको छ ।
कास्कीको पोखरा महानगरपालिका-६ लेकसाईड बस्ने २३ वर्षीया आन्सी परियारलाई नियन्त्रित लागूऔषध डाईजेपाम ३४ एम्पुल, फेनारगन ३३ एम्पुल र न्युफिनोडिन लेखेको ३४ एम्पुलसहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
बर्दियाको बढैयाताल गाउँपालिका-२ फुटाहबाट लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ६६० मिलिग्रामसहित बैजनाथ गाउँपालिका-३ उत्तर लधौरा बस्ने २० वर्षीय रबिन्द्र कुमार थारू समेत २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गेको हो ।
कैलालीको धनगढी उपमहानगरपालिका-११ बेला बस्ने २८ वर्षीय अर्जुन चौधरी र ३२ वर्षीय आशाराम चौधरीलाई लागूऔषध खैरो हेरोइन जस्तो देखने पदार्थ ८ ग्राम ५८० मिलिग्राम सहित बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध ब्यूरो शाखा कार्यालय धनगढी र वडा प्रहरी कार्यालय धनगढी समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरको हो ।
यसैगरी कैलालीको गोदावरी नगरपालिका-२ अत्तरिया बजारबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ ग्राम ६८० मिलिग्रामसहित २ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बझाङ जयपृथ्बी नगरपालिका-१० बस्ने २२ वर्षीय विशाल सिंह र २० वर्षीय घर्मेन्द्र सुनार रहेका छन् । इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाराको विश्रामपुर गाउँपालिका-१ खेखरीयाबाट लागूऔषध कोकिन जस्तो देखिने पदार्थ करिब २१ ग्राम ६५० मिलिग्राम सहित भारत पूर्वी चम्पारण बिहार नायकटोल बस्ने ३५ वर्षीय लाल बाबु साहलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय छतवाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको बीआर ०५ एएन ३५३२ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
दाङको तुलसीपुर उपमहानगरपलिका–७ राजापुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १३० मिलिग्रामसहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २२ वर्षीय प्रविन परियार र सोही नगरपालिका-७ पर्सेनी बस्ने २८ वर्षीय शिव थापा रहेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
इलामको इलाम नगरपालिका-७ बस्ने छिरिङ दोर्जे लामा समेत ५ जनालाई लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ८ ग्राम ७० मिलिग्राम सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय इलाम र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरीले छिरिङको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








प्रतिक्रिया