शनिबार, पुष ५, २०८२

सूचना प्रविधिको उपयोग गर्दै नेपा : भाषा संरक्षणमा लाग्न महानगरप्रमुख महर्जनको आग्रह

नेपालखोज २०८२ मंसिर १२ गते १३:२२

पाटन (ललितपुर) । ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जनले नेपा: भाषा मंका खल:का नवनिर्वाचित अध्यक्ष एवम् पदाधिकारीलाई सूचना प्रविधिको उपयोग गर्दै भाषा संरक्षणमा लाग्न आग्रह गरेका छन् ।

नेपा: भाषा मंका खल:को १४औँ अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गर्न महानगरले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले सूचना प्रविधिले फड्को मारिरहेको युगमा नेपाः भाषा, संस्कृतिको संरक्षणलाई प्राथमिकता राखेर सबैसँग सहकार्य र समन्वयका साथ काम गर्न आग्रह गरे ।

‘मंका खलःले भाषा, संस्कृतिको क्षेत्रमा विज्ञहरूलाई छनोट गरेर काम गर्न आवश्यक छ । ललितपुर महानगरले नेपाः भाषा संरक्षण र संवर्द्धनका लागि मंका खलःलाई जुनसुकै सहयोग गर्न तयार छ’, महानगरप्रमुख महर्जनले भने, ‘बजेटमा कुनै कमी हुन नदिन हामी सहयोग गर्छौं । सूचना प्रविधिको प्रयोग गरी नेपाः भाषालाई प्रवर्द्धन गर्न प्रभावकारी कदम चाल्न आवश्यक छ ।’

मंका खल:को प्रमुख उद्देश्य र दायित्व नै भाषा, संस्कृति तथा सम्पदालाई प्राथमिकतामा राखेर काम गर्नु हो भन्दै उनले यसका लागि महानगर आवश्यक सहयोग, समन्वय र सहकार्य गर्न तयार रहेको बताए ।

मंका खल:का अध्यक्ष महेन्द्रलाल महर्जनले आजभोलि नेपाः भाषाको प्रयोग कम भएकाले समस्यामा पर्दै गएको उल्लेख गर्दै आफ्नोे परिवारबाट नै यसको प्रयोगलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याए । उनले लोकसेवा आयोगको परीक्षामा समेत नेवारी भाषालाई समावेश गराउनका लागि मंका खलले प्रयास गर्ने बताउँदै यसका लागि महानगरलगायत सबै सरोकार भएकाहरूको सहयोग आवश्यक रहेको बताए ।

महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले नेपा: भाषा मंका खल:ले नेवारी भाषाको संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । भाषा र संस्कृति संरक्षणका लागि महानगरले स्थानीय पाठ्यक्रम लागू गरेको जानकारी गराउँदै उनले नेवारी भाषा नै लोप हुने अवस्थामा पुगेकाले भाषा र लिपिको संरक्षणमा लाग्नुपर्ने बताए । देशविदेशमा रहेका नेवारी समुदायका मानिसलाई एकताबद्ध गर्नु पनि आवश्यक रहेको उपप्रमुख बज्राचार्यको भनाइ थियो ।

प्रतिक्रिया