‘ओसिएमसी’मा आएका पीडितको व्यवस्थापनमा समस्या

काठमाडौं । सरोकारवालाले लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र (ओसिएमसी)मा आएका पीडितहरुलाई व्यवस्थापन तथा रेफरल (प्रेषण) प्रणालीमा जटिलता देखिएको बताएका छन् ।
उनीहरुले जेनजी आन्दोलन अघिदेखि उक्त समस्या रहेकामा सो आन्दोलनपछि झनै समस्या देखिएको गुनासो गरेका हुन् । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा राष्ट्रिय महिला आयोगको आयोजना तथा हामी दाजुभाइ संस्थाको व्यवस्थापन तथा सहकार्यमा ‘लैङ्गिक हिंसासम्बन्धी पीडितमैत्री सम्प्रेषण प्रणालीको सवालमा सरोकारवालाहरु माझ अन्तरक्रिया’ आफ्नो धारणा राख्दै परोपकार प्रसूति गृह तथा स्त्री रोग अस्पतालका ओसिएमसी प्रमुख सुकुमाया लामाले रिफरल (प्रेषण) प्रणालीमा समस्या रहेको बताए ।
उनले भने, विशेषगरी मानसिक समस्या भएका र बेवारिसे अवस्थामा भेटिएका मानिसहरुको व्यवस्थापनमा निकै गाह्रो छ । उनीहरुलाई राख्ने ठाउँको अभाव छ । सुरक्षित आवासमा ठाउँ हुँदैन । लामाले जेनजी आन्दोलनपछि कतिपय पीडित कागजपत्र नै जलेको अवस्थामा कसरी न्याय पाउने भन्नेमा चिन्तित रहेको बताए ।
विश्वास नेपालकी संस्थापक अध्यक्ष तारा भण्डारीले आन्दोलनका समयमा साइबर हिंसाका घटनामा प्रहरीको सहयोग उदाहरणीय भएको बताए । उनले भने, साइबर ब्युरोले अनुसन्धान गर्यो तर त्यति बेला पीडकलाई लाने गाडीसमेत प्रहरीसँग थिएन । जेल ध्वस्त थियो । तर त्यस्तो गाह्रो अवस्थामा प्रहरीले समन्वय गर्यो ।
नेपाल प्रहरीअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयमा कार्यरत प्रहरी निरीक्षक अनुजा जंगमले घरेलु हिंसाका घटना बढी देखिएको बताउँदै यो वर्ष २१ हजार ६६८ लैङ्गिक हिंसाका घटना देखिएको बताए । उनीहरुले आन्दोलनका क्रममा धैरै जसो प्रहरी कार्यालय जल्दा मनोबल गिरेको बताउँदै महिला हिंसाको घटनालाई सम्बोधन गरेर न्याय दिन प्रहरी सदैव प्रयासरत रहेको बताए ।
दाजुभाइ संस्थाका अध्यक्ष सञ्जोग ठकुरीले आन्दोलनपछि लैङ्गिक हिंसाको अवस्था र त्यसपछि पीडितको प्रेषणा प्रणालीमा आउने समस्याबारे थप बहसको आवश्यकताको खाँचो औँल्याए । कुनै आन्दोलनपछि लैङ्गिक हिंसा पीडितहरुको अवस्था झन दयनीय हुने रहेछ । पीडकहरुले स्वतन्त्रता पाउने रहेछन्, उनले भने ।








प्रतिक्रिया