सोमबार, मंसिर २२, २०८२

नेपाली काँग्रेस र लोकतन्त्रको सुदृढीकरण !

डा. अम्बिका शर्मा  २०८२ मंसिर १३ गते १३:०२

नेपालको राजनीतिक इतिहासमा नेपाली काँग्रेसले सधैँ लोकतन्त्रको रक्षक र प्रवर्द्धकको भूमिका निर्वाह गर्दै आएको छ। २०४६ को जनआन्दोलन देखि २०६२/६३ को दोस्रो जन-आन्दोलन सम्म र हालका Gen Z विद्रोह (Gen Z Quake) जस्ता घटनाक्रमहरूमा पनि काँग्रेसले महत्त्वपूर्ण एवं रचनात्मक योगदान दिन सक्नु पर्दछ । हालको विषम परिस्थितिमा चुनौतीको रूपमा देखिएको राजनीतिक अस्थिरता, आन्तरिक पार्टी विवाद, युवा विद्रोह, जनचाहना र आगामी चुनाव शान्ति पूर्ण एवं धाँधली रहित बनाइ लोकतन्त्रलाई थप मजबुत बनाउन पार्टीले अहम् भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ  ।

गुटबन्दी अन्त्य र युवा नेतृत्वको प्रोत्साहन

नेपाली काँग्रेसको आन्तरिक कलह हालको प्रमुख चुनौती हो । पार्टी भित्रका गुटबन्दी र नेतृत्व विवादले पार्टीलाईलाई कमजोर बनाएको छ, जसलाई सम्बोधन गर्न तत्काल महाधिवेशन (General Convention) आयोजना गर्नु अपरिहार्य देखिन्छ । यो महाधिवेशन मार्फत आन्तरिक चुनाव आयोजना गरी नेतृत्व चयन गरी गुटबन्दीलाई घटाई पार्टीमा नयाँ ऊर्जा भर्न सकिन्छ । विभिन्न केन्द्रीय सदस्यहरूले यस अगाडिका कार्यसमिति बैठकहरूमा एकताको आवश्यकतामा जोड दिइएका छन्  र यस सन्दर्भमा नोभेम्बर २९, २०२५ मा हुने बैठकले ठोस निर्णय लिन सक्ने अपेक्षा गरिएको छ ।

यसबाहेक, दोस्रो पुस्ताका नेताहरू र Gen Z युवाहरूलाई बढी जिम्मेवारी दिनु आवश्यक छ । Gen Z विद्रोहपछि पार्टीका युवा सदस्यहरूले विधान संशोधन माग गर्दै युवा प्रतिनिधित्व विस्तार गर्न दबाब दिएका छन् । युवा एकता आजको राष्ट्रिय आवश्यकता नामक अभियान चलाउँदा पार्टीमा नयाँ पुस्तालाई समावेश गरी Gen Z आन्दोलनहरूसँग जोडिन सजिलो बनाउँछ। यसले पार्टीको छविलाई आधुनिक र समावेशी बनाउँछ, जसबाट लोकतन्त्रको आधारभूत मूल्यहरू थप मजबुत हुन्छन् ।

भ्रष्टाचारको विरोध र संस्थागत स्वतन्त्रता

लोकतन्त्रको सुदृढीकरणका लागि काँग्रेसले यसका मूलभूत मूल्य र मान्यताहरू स्वतन्त्र न्यायपालिका र प्रेस स्वतन्त्रताको पक्षमा र वास्तविक भ्रष्टाचारको विपक्षमा दह्रो सँग उभिन सक्नु पर्दछ । हालका उदीयमान चुनौतीहरू जस्तै राजनीतिक अस्थिरता र Gen Z विद्रोह विरुद्ध पार्टीले स्पष्ट रणनीति बनाउनु आवश्यक छ। यसका लागि राष्ट्रव्यापी अभियान चलाउन सकिन्छ, जसमा भ्रष्टाचारका मुद्दाहरूको अनुसन्धानमा मा हाल देखिएको राज नैतिक स्वार्थ उत्प्रेरित अभियोजनका सट्टा वास्तवमा नै स्वतन्त्र संस्थाहरूको आवश्यकताको पक्षमा आवाज उठाउनु आवश्यक छ ।

काँग्रेसले अन्य दलहरूसँग गठबन्धन गर्दा पनि लोकतान्त्रिक सिद्धान्तलाई प्राथमिकता दिनु पर्छ । हालको राजनीतिक अस्थिरतालाई स्थिरता प्रदान गर्न पार्टीले अधिनायकवादी प्रवृत्ति विरुद्ध सजग रहँदै अन्य लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्नु जरुरी देखिन्छ ।

राजनीतिक अस्थिरताको समाधान

हालको सङ्कटको समाधानका लागि काँग्रेसले चुनावलाई मुख्य माध्यम बनाउन सक्नु पर्दछ । आगामी मार्च ५, २०२६ मा हुने प्रतिनिधिसभा चुनावमा पार्टीले युवा, महिला र सीमान्तकृत समुदायलाई प्रतिनिधित्व दिई मजबुत उम्मेदवारी तयार पार्नु आवश्यक छ।

आर्थिक विकास र डिजिटल गभर्नेन्स

काँग्रेसले आर्थिक विकास, शिक्षा, स्वास्थ्य, रोजगारी र डिजिटल गभर्नेन्समा केन्द्रित नीतिहरू बनाउनु पर्छ । Gen Z आन्दोलनबाट सिकेर पार्टीले पारदर्शिता र डिजिटल प्रविधिलाई प्राथमिकता दिनु आवश्यक छ, जसले पार्टीको छवि सुधार्दै लोकतन्त्रको आधार मजबुत पार्दछ ।

उदाहरणका लागि, युवा नेतृत्वलाई प्रोत्साहन दिई नयाँ कार्यक्रमहरू जस्तै युवा रोजगारी योजना र शिक्षा सुधारलाई अगाडि बढाउन सकिन्छ। यसले पार्टीको जन केन्द्रित छवि निर्माण गर्दै लोकतन्त्रलाई जनजीवनसँग जोड्न सघाउ पुर्याउदछ ।

अन्तमा:

काँग्रेसले अन्य लोकतान्त्रिक शक्तिहरूसँग सहकार्य गर्दै अधिनायकवादी  प्रवृत्ति विरुद्ध सजग हुँदै पार्टीको इतिहासलाई आधार बनाई नयाँ पुस्तासँग संवाद अगाडी बढाई दीर्घकालीन रूपमा लोकतन्त्रलाई सुरक्षित राख्न उद्धत भई हालको विषम परिस्थितिलाई अवसरमा बदल्न बुद्धिमत्तापूर्ण ढङ्गले प्रस्तुत हुन सक्नु पर्दछ ।

प्रतिक्रिया