विश्वभरि प्रजातन्त्रलाई बलियो बनाउन एआईका चार सफल प्रयोग

कृत्रिम बुद्धिमत्ता (एआई) का जोखिमहरू र यसले शक्ति एकत्रित पार्ने खतरा स्पष्ट छ। तर न्यायपूर्ण र निष्पक्ष ढङ्गले प्रयोग गरेमा यो असल शासनका लागि ठुलो वरदान बन्न सक्छ।

नाथन ई. स्यान्डर्स र ब्रुस स्नाएर
लोकतन्त्र र एआईबिच ठुलो टक्कर चलिरहेको छ। हालै स्ट्रास्बोर्गमा भएको विश्व लोकतन्त्र मञ्च सम्मेलनमा उपस्थितहरुको प्रतिक्रिया हेर्दा लोकतन्त्र एआईको मारमा पर्ने धेरैजसोको अपेक्षा छ।
हो, एआईबाट लोकतन्त्रलाई खतरा त छ तर अवसर पनि उत्तिकै छ।
भर्खरै प्रकाशित भएको Rewiring Democracy: How AI will Transform Politics, Government, and Citizenship नामक पुस्तकमा एआईले सूचना प्रणालीमा विश्वास कसरी कमजोर बनाउँदै छ, एआईको पक्षपाती प्रयोगले नागरिकलाई कसरी हानि पुर्याउन सक्छ र निरङ्कुश शासकहरूले आफ्नो सत्ता मजबुत बनाउन एआईलाई कसरी प्रयोग गर्न सक्छन् भन्ने कुरा स्पष्टसँग लेखिएको छ। त्यत्ति मात्र नभई एआईले लोकतान्त्रिक शासन पद्धति र राजनीतिलाई कसरी राम्रो बनाइरहेको छ भन्ने सकारात्मक उदाहरणहरू पनि यस पुस्तकमा छ।
अहिले विश्वमा एआईको प्रेरणादायी प्रयोगका चार यस्ता कथन छन्, जसले एआईको जिम्मेवारीपूर्ण प्रयोगले लोकतन्त्रलाई बलियो, जनमुखी तथा जवाफदेही बनाउन सकिन्छ भन्ने स्पष्ट रूपमा देखाउँछन्।
जापान
गत वर्ष ३३ वर्षीय इन्जिनियर ताकाहिरो आन्नो टोकियोको गभर्नर पदका लागि निकै कमजोर उम्मेदवार थिए। स्वतन्त्र रूपमा उठेका आन्नोले छपन्न जनाको बिचमा पाँचौँ स्थानमा आए। यसको मुख्य कारण थियो- अनुमति प्राप्त एआई अवतारको अभूतपूर्व प्रयोग। त्यस एआई अवतारले लगातार सत्र दिनसम्म चलिरहेको युट्युब लाइभ स्ट्रिममा मतदाताका आठ हजार छ सय प्रश्नहरूको जवाफ दिएको थियो। यसै कारणले गर्दा विश्वभरका अभियान प्रवर्तकहरूको ध्यान यसले खिचेको थियो।
दुई महिनाअघि आन्नो-सान जापानको माथिल्लो संसद (हाउस अफ काउन्सिलर्स) मा निर्वाचित भए। यसमा फेरि पनि एआईको प्रयोग गर्दै मतदातासँग संवाद गर्दै बिस हजार भन्दा बढी प्रश्नको जवाफ पनि दिएका थिए। उनको नयाँ पार्टी ‘टिम मिराई’ एउटा एआई-सक्षम नागरिक प्रविधि संस्था पनि हो। सो संस्थाले शासनलाई राम्रो र बढी सहभागितामूलक बनाउने सफ्टवेयर पनि बनाउँछ। सो पार्टीले राजनीतिक दललाई दिइने सरकारी कोषको आफ्नो भागबाट “मिराई असेंबली” एप बनाउँदै छ। यसले नागरिकहरूलाई विधेयकहरूबारे सल्लाह दिन र प्रश्न सोध्न सजिलो बनाउँछ र एआईको मद्दतले ती सल्लाहहरूलाई व्यवस्थित पनि गर्छ। पार्टीले आफ्ना सांसदहरूले संसदीय समितिमा प्रश्न उठाउँदा जनताको यही प्रश्न र सल्लाहहरूलाई आधार बनाउने पनि वाचा गरेको छ।
ब्राजिल
ब्राजिल मुद्दा-मामिलाको हिसाबले विश्वमै कुख्यात छ; यहाँ प्रतिव्यक्ति वकिलको सङ्ख्या अमेरिकाभन्दा पनि बढी छ। अदालतहरू वर्षौँदेखि मुद्दाको बोझले थिचिएका छन् र त्यसको परिणामस्वरूप बाँकी रहेका मुद्दा फर्छ्योट गर्न सरकारलाई अर्बौँको खर्च लाग्छ। सङ्घीय सरकारले अदालत सञ्चालनमा वार्षिक जिडिपीको करिब १.६% र हारेका मुद्दाहरूमा तिर्नुपर्ने अदालती भुक्तानीमा जिडिपीको थप २.५% देखि ३% खर्च गर्ने गरेको अनुमान छ।
सन् २०१९ देखि नै ब्राजिलको सरकारले न्यायिक प्रक्रियालाई स्वचालित बनाउन एआईलाई आक्रामक रूपमा अपनाउँदै आएको छ। एआईले फैसला भने गर्दैन। तर एआईले मुद्दा बाँडफाँड, कानुनी अनुसन्धान, सुनुवाइको ट्रान्सक्रिप्ट, दोहोरो मुद्दाहरूको पहिचान, प्रारम्भिक आदेश तयार पार्ने र समान प्रकृतिका मुद्दालाई एकै समूहमा राख्ने काम गर्दछ। यी सबै प्रयोगहरूले न्याय प्रणालीलाई छिटो-छरितो बनाएका छन्। फलस्वरूप नतिजा उल्लेखनीय छ; सन् २०२५ मा ब्राजिलको सर्वोच्च अदालतले फैसला गर्न बाँकी मुद्दा तेत्तीस वर्षयताकै सबैभन्दा कम भएको छ।
तर विगत पाँच वर्षको एआई परियोजनामा एउटा रोचक पृष्ट पनि छ, वकिलहरूले पनि यी एआई औजारको फाइदा उठाइरहेका छन्। एआईको प्रयोगमा नयाँ मुद्दा दर्ता गर्ने दर अभूतपूर्व रूपमा बढेको छ। पछिल्लो पाँच वर्षमा नयाँ मुद्दाहरूको सङ्ख्या करिब चालिस प्रतिशतले वृद्धि भएको छ।
यो दौडमा वकिलहरू अगाडी हुने कुरा खराब होइन। सरकारविरुद्ध मुद्दा हाल्नु पनि लोकतन्त्रमा नागरिक सहभागिताको महत्त्वपूर्ण रूप हो भन्ने तर्क छ। यो प्रक्रियाले सरकारलाई जवाफदेही बनाउँछ। अन्य लोकतन्त्रहरूले ब्राजिलको अनुभवबाट सिक्नुपर्छ र प्रविधिको प्रयोग गरेर अदालतको क्षमता र गतिशीलता बढाउनुपर्छ। यसले गर्दा मुद्दाहरू छिटो र प्रभावकारी रूपमा किनारा लागिरहेका छन्।
जर्मनी
एआई र मतदातालाई सूचित बनाउने नवीनतम प्रयोग। सन् २००२ देखि जर्मनीको सङ्घीय नागरिक शिक्षा एजेन्सीले निष्पक्ष मतदान सहयोगी उपकरण वाह्ल-ओ-म्याट चलाउँदै आएको छ। एजेन्सीले २६ वर्षमुनिका विभिन्न वर्गका २४ जना युवा र विज्ञहरूसँग मिलेर मतदाताको सम्पादक टोली बनाई ८० वटा प्रश्न भएको प्रश्नावली तयार गर्यो। ती प्रश्नहरू सबै दर्ता भएका राजनीतिक दलहरूलाई सोधियो। आएका जवाफलाई ३८ मुख्य विषयमा छुट्ट्याएर हाजिरी जवाफको रूपमा अनलाइन राखियो, जसले मतदातालाई आफ्नो विचारसँग सबैभन्दा नजिकको दल पहिचान गर्न सघाउँछ।
पछिल्ला दुई वर्षमा अन्य समूहहरूले एआई प्रयोग गरेर आधिकारिक वाह्ल-ओ-म्याटका वैकल्पिक संस्करण ल्याएका छन्। पहिलो आयो जर्मन एआई कम्पनी एआईयुआई को उत्पादन वाह्लवाइजे। दोस्रो, म्युनिख प्राविधिक विश्वविद्यालयका विद्यार्थीहरूले ल्याएको अन्तरक्रियात्मक एआई प्रणाली वाह्ल च्याट। वाह्ल च्याटलाई चार महिनामै एक लाख पचास हजारभन्दा बढीले प्रयोग गरे। यी दुवैमा एआईमा मतदाताहरूले स्थिर वेब पेज पढ्नुपर्दैन। उनीहरू एआईसँग कुराकानी गरेर आफ्नो चासो र प्रश्नअनुसार दलहरूको नीति सजिलै बुझ्न सक्छन्।
तर सन् २०२५ को सङ्घीय निर्वाचनअघि जर्मन अनुसन्धाताहरूले यस्ता एआई उपकरणको विश्वसनीयता जाँच्दा गम्भीर चिन्ता व्यक्त गरे– पक्षपात र ह्यालुसिनेसन (एआई ले झूटो जानकारी बनाउने समस्या) को जोखिम छ। प्रविधिको सम्भावना स्विकार्दै उनीहरूले आधिकारिक वाह्ल-ओ-म्याटमा जस्तै वैज्ञानिक मूल्याङ्कन प्रक्रिया अपनाएर यस्ता उपकरणलाई सुधार्दै संस्थागत गर्नुपर्छ भन्ने सुझाव दिए जसले गर्दा मतदाता झनै राम्रोसँग सूचित हुन सकुन् र दलहरूको पारदर्शिता पनि बढोस्।
संयुक्त राज्य अमेरिका
अन्तमा अमेरिका, खास गरी क्यालिफोर्निया, जहाँ गैर-नाफामूलक तथा निष्पक्ष समाचार संस्था क्यालम्याटर्स छ। सन् २०२३ देखि यस संस्थाले “डिजिटल डेमोक्रेसी” परियोजना अन्तर्गत क्यालिफोर्नियाका सबै निर्वाचित पदाधिकारीका सार्वजनिक अभिव्यक्तिहरू – संसदमा बोलेका हरेक भाषण, विभिन्न समितिमा दिएको टिप्पणी, सामाजिक सञ्जाल पोस्टहरू, मतदान रेकर्ड, विधेयक र चुनावी चन्दा – सबै सङ्कलन गरेर निःशुल्क अनलाइन प्लेटफर्ममा उपलब्ध गराउँदै आएको छ।
यो वर्ष क्यालम्याटर्सले एउटा नयाँ सुधार गर्यो जसले नागरिक निगरानीको काममा ठुलो फड्को मार्यो। यसको ‘एआई टिप शीट्स’ ले यी सबै डेटाहरू भित्र खोजी गर्दै असामान्य कुरा पहिचान गर्छ, जस्तै: ठुलो चुनावी चन्दा आएपछि मतदानको अडान परिवर्तन भएको। यस्ता असामान्य घटना पत्रकारहरूले हेर्न सक्ने वेब पेजमा देखाइन्छ, जसले उनीहरूलाई समाचारको विचार र थप अनुसन्धानका लागि डेटा तथा विश्लेषण दिन्छ।
यो एआईले मानव पत्रकारितालाई विस्थापित गरेको होइन; बरु एउटा नागरिक समाजको संस्थाले प्रविधिको प्रयोग गरेर प्रमाणमा आधारित सूचना र डाटाहरू मानव पत्रकारलाई दिइरहेको छ। यो नवप्रवर्तन गैर-नाफामूलक समाचार संस्थाबाटै आएको संयोग होइन। अखबारहरूको व्यापारिक मोडल खस्किँदै जाँदा चौथो अङ्गको निगरानी भूमिका कमजोर बन्दै छ; यस्तो अवस्थामा प्रविधिको यो सहयोगले सीमित सङ्ख्यामा रहेका पत्रकारहरूलाई लोकतन्त्रले अपेक्षा गरेको प्रभावकारी काम गर्न ठुलो मद्दत पुर्याइरहेको छ।
यी त विश्वभरि भइरहेका धेरै सफल प्रयोगहरूमध्ये जम्मा चार मात्र हुन्, जसले एआईले लोकतन्त्रलाई बलियो बनाउँदै छ भन्ने देखाउँछ। यी सबैको साझा सूत्र एउटै छ: प्रविधिले सत्ता केन्द्रित होइन, बाँड्दै छ। जापानमा राजनीति, ब्राजिलमा मुद्दा-मामिला, जर्मनीमा मतदान र क्यालिफोर्नियामा निगरानी पत्रकारिता– चारै ठाउँमा एआईले नागरिकका लोकतान्त्रिक कार्यमा सहयोग मात्र गरिरहेको छ, उनीहरूलाई विस्थापित गरेको छैन।
यी कुनै पनि काम मानिस आफैँ सक्षम भएर गर्न सक्दैनन् भन्ने होइन। तर हामीसँग पर्याप्त मानिस छैनन्। विश्वसनीय एआईले त्यो खाली ठाउँ भर्छ, नागरिक र कर्मचारीको शक्ति बढाउँछ, दक्षता ल्याउँछ र सरकार- नागरिक बिचको संवाद सजिलो बनाउँछ।
यो सपना ठुलो स्तरमा लागु गर्न बाधक एउटा ठुलो कारक छ: एआई बजार आफैँ। मुख्य प्रविधि अमेरिकी ठुला कम्पनीले बनाइरहेका छन्। यिनीहरूको विकास कसरी भयो, कुन डेटामा तालिम दिइयो, कस्ता सुरक्षा अवधारणा र मूल्यहरू राखिए, कुन कुरामा पक्षपात छ, हामीलाई थाहा छैन र हाम्रो कुनै आवाज पनि छैन। लोकतान्त्रिक काममा यस्ता नाफामूलक बन्द स्रोतका एआई प्रयोग गर्नु धेरै अवस्थामा जोखिम हुन्छ।
यसको विकल्प हामीले लामो समयदेखि भन्दै आएका छौंः “सार्वजनिक एआई” – लोकतान्त्रिक नियन्त्रणमा बनेको र जनहितका लागि खुला गरिएको एआई। यो अभियान विश्वभरि बढ्दै छ।
स्विट्जरल्यान्डले भर्खरै विश्वकै सबैभन्दा शक्तिशाली र पूर्ण सार्वजनिक एआई मोडल सार्वजनिक गरेको छ, नाम हो एपर्टस। यो स्विस सरकार र इटिएच जुरिच विश्वविद्यालयले संयुक्त रूपमा सँगै बनाएका हुन्। यो पूरै ओपन सोर्स छ- डेटा, कोड र वेट सबै खुला, जो-कोहीले निःशुल्क प्रयोग गर्न सक्छन्। यसलाई तालिम दिँदा कुनै पनि चोरीको प्रतिलिपि अधिकार भएको सामग्री प्रयोग गरिएको छैन। गरिब देशहरूका कम तलबी मजदुरको शोषण गरिएको छैन। यसको क्षमता अहिलेका ठुला कम्पनीहरूको एआईहरुको एक वर्षअघिको जतिकै छ, जुन धेरै कामका लागि प्रशस्त छ। यसले यस्ता मोडल बनाउन खर्बौँ डलर खर्च गर्नै पर्दैन भन्ने समेत प्रमाणित गरिदिएको छ। एपर्टसले ठुला प्रविधि कम्पनीको एकाधिकार तोड्ने वैकल्पिक एआईको बाटोमा ठुलो फड्को मारेको छ।
एआईमा सधैँ जोखिम र चुकाउनु पर्ने मूल्य छँदै छ। तर फाइदा पनि उत्तिकै ठुलो छ।
एआई आफैँमा शक्ति-वर्धक हो, जसले चलाउँछ, उसको इच्छा बढाइदिन्छ। निरङ्कुशता जति सजिलै बढाउन सक्छ, लोकतन्त्र पनि त्यत्तिकै। दिशा हामीले निर्धारण गर्ने हो।
यदि बढी भन्दा बढी नागरिक निगरानीकर्ता र वकिलहरूले एआई प्रयोग गरेर सरकारमाथि नजर राख्न र जवाफदेही बनाउन सके भने, यदि विभिन्न दल र निर्वाचन निकायहरूले मतदातासँग साँचो संवाद र सूचना दिन एआई प्रयोग गर्छन् भने र यदि सरकारहरूले ठुला कम्पनीको सट्टा लोकतान्त्रिक सार्वजनिक एआईको विकल्प दिन्छन् भने समाज धेरै राम्रो हुनेछ।
अबको आश
सबैभन्दा उत्साहित बनाउने कुरा हो- मानिसहरूले प्रविधिलाई आफ्नै हातमा लिएर आफूले विश्वास गरेका कुराका लागि लडिरहेका छन्। माथिका उदाहरणबाहेक पनि हामी देखिरहेका छौँ, अमेरिकामा चुनावी अभियानकर्ताहरूले एआई प्रयोग गरेर घर-घरमा पुग्ने मतदाता शिक्षा झन् प्रभावकारी बनाउँदै छन्, ब्राजिलका नागरिक प्रविधिविद्हरूले डेटाको सहायताले स्थानीय सरकारमाथि निगरानी बढाइरहेका छन् र विश्वभरि यस्ता अनगिन्ती उदाहरण छन्।
एआईले सत्ता बाँड्ने वास्तविक सम्भावना छ। अहिले त यो सत्ता केन्द्रित गरिरहेको छ किनभने अत्याधुनिक मोडल बनाउने खर्च अत्यधिक छ। तर त्यो खर्च तीव्र गतिमा घट्दै छ र साना, छरिता मोडलको माग बढ्दै छ। हामीले गर्न सक्ने सबैभन्दा महत्त्वपूर्ण काम हो- टेक एकाधिकार तोड्नु र वितरित एआई इकोसिस्टमले त्यसैमा ठुलो मद्दत गर्न सक्छ।
नाथन ई. स्यान्डर्स हार्वर्ड विश्वविद्यालयको बर्कम्यान क्लाइन सेन्टरसँग आबद्ध डेटा वैज्ञानिक हुन् भने ब्रुस स्नाएर हार्वर्डकै केनेडी स्कुलमा सुरक्षा प्रविधि पढाउने प्राध्यापक हुन्। यी दुवैले सँगै मिलेर Rewiring Democracy: How AI Will Transform Our Politics, Government, and Citizenship नामक पुस्तक लेखेका छन्।
श्रोत: द गार्जियन
श्रोत: आइएनएस-स्वतन्त्र समाचार








प्रतिक्रिया