मंगलबार, वैशाख १६, २०८२

औषधिमय नेपाली भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्न प्रमको आग्रह

नेपालखोज २०७७ असोज २३ गते १९:२२

काठमाडौं‌ । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड(१९ रोकथाम र नियन्त्रण गरी जनताको जीवन रक्षामा सरकारको मुख्य ध्यान रहेको बताएका छन्।

गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समिति (एनआरएनए) को दोस्रो ज्ञान सम्मेलनको भर्चुअलरुपमा आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले आयुर्वेदिक र एलोप्याथिक दुवै क्षेत्रको सहयोगबाट कोरोना विरुद्धको लडाइँ लडिएकाले नेपालका बहुमूल्य जडिबुटी र भान्सामा प्रयोग भइरहेका औषधिमय गुण भएका चिजको प्रयोग बढ्दो रहेको बताए।

उनले औषधिमय नेपाली भान्साको परम्परा र ज्ञानलाई थप खोज र विस्तार गर्न आग्रह पनि गरे। “हाम्रा ज्ञान, अनुभव र सीपको प्रयोगको विकास गर्न थप खोज र अनुसन्धान गर्न आवश्यक छ। महामारीसँग लड्दै गरेको स्थितिमा पनि आर्थिक समृद्धिका लागि आशाका केही किरणहरु देखिने गरी विकासको गति हासिल गर्दै गएका छौँ। यसमा गैरआवासीय नेपालीको पनि ज्ञान, सीप र लगानी हामी आह्वान गरिरहेका छौँ,” उनले भने।

प्रधानमन्त्री ओलीले आन्दोलनको उपलब्धिस्वरुप लोकतान्त्रिक गणतन्त्र प्राप्ति भइसकेकाले अब शान्तिपूर्ण प्रतिस्पर्धाबाट अधिकारसँगै सबै जीवनसँग सम्बन्धित चाहना र दायित्वमा केन्द्रित हुन आवश्यक भएको बताउँदै विश्वका ठूला अर्थतन्त्र भएका मुलुक महामारीबाट आर्थिक चपेटामा परेका बेला नेपालको आर्थिक वृद्धिदर शून्य र ऋणात्मकतर्फ नजाने सकारात्मक स्थिति रहेको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले मुलुक समृद्धिको दिशातर्फ अघि बढेकाले जीविकाका लागि बाध्यतावश विदेश जाने स्थिति अन्त्य गरी स्वदेशमै श्रम र सीपको प्रयोग गर्न सक्ने आधार निर्माणमा गैरआवासीय नेपालीको पनि भूमिका हुनुपर्नेमा जोड दिए।

प्रतिक्रिया