मंगलबार, पुष १, २०८२

सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ : मन्त्री गुप्ता

नेपालखोज २०८२ मंसिर १९ गते १३:४७

काठमाडौं । युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले ट्राफिक प्रहरीले सवारी चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताएका छन् ।

आज उपत्यका ट्राफिक प्रहरी कार्यालयले आयोजना गरेको अन्तरराष्ट्रिय स्वयंसेवक दिवस २०१५ का अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण सचेतना स्वयंसेवा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले ट्राफिकप्रति हेर्ने दृष्टिकोण र ट्राफिक प्रहरीले चालक, सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए ।

यसैगरी उनले दुईपाङ्ग्रे सवारीसाधनका घटना बढी हुने गरेको तथ्याङ्क देखिएकाले दुईपाङ्ग्रे सवारी चालकले विशेष सावधानी अपनाउनुपर्ने बताए । नेपाल आर्थिक हिसाबले कमजोर रहेकाले भएका स्रोतसाधनको सही उपयोग गरेर अघि बढ्नुपर्ने मन्त्री गुप्ताको भनाई थियो । सडकमा ट्राफिक लाइट जडान गर्ने, सडकलाई अझ सुरक्षित बनाउने, प्रहरीका भौतिक संरचना बढाउने विषयमा आर्थिक अवस्था कमजोर भएकाले भनेकै समयमा सबै कुरा गर्न नसकिएको मन्त्री गुप्ताले स्पष्ट पारे ।

यसैगरी, उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख एवं प्रहरी अतिरिक्त महानिरीक्षक ईश्वर कार्कीले आमनागरिकको साथ सहयोगबाट ट्राफिक प्रहरीसहित नेपाल प्रहरीले समुदायस्तरमा रहेका समस्या समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं ट्राफिक वरिष्ठ उपरीक्षक नवराज अधिकारीले ट्राफिक प्रहरी सदैव नागरिकको जिउज्यानका लागि खटिकाले हामी सधैँ आमनागरिकप्रति बफादार भएर कटिबद्ध रहेको बताए ।

कार्यक्रममा उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले सवारी दुर्घटना एवं ट्राफिक व्यवस्थापनबारे कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया