मंगलबार, पुष १, २०८२

मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छ : स्वास्थ्यमन्त्री डा गौतम

नेपालखोज २०८२ मंसिर १९ गते १४:०७

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा गौतमले पछिल्लो समय मानसिक स्वास्थ्यको जोखिम बढ्दै गएकाले यसको न्यूनीकरणका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनपद्धतिमा जोड दिनुपर्ने बताएकी छन् ।

तरङ्गीनि फाउण्डेशनले आजदेखि काठमाडौंमा आयोजना गरेको दुईदिने ‘नेशनल कम्युनिटी मेन्टल हेल्थ कन्फ्रेन्स’ मा उनले विज्ञ चिकित्सकको परामर्शसँगै दैनिक जीवनमा योग र ध्यानमा जोड दिनुपर्ने सुझाव दिइन् ।

मन्त्री डा गौतमले मानसिक स्वास्थ्य समस्याकै कारण हरेक वर्ष सात हजार व्यक्तिले आत्महत्या गर्ने गरेको तथ्याङ्क पेस गर्दै यसको न्यूनीकरणका लागि सरकार, समुदाय र परिवार सँगसँगै अगाडि बढ्नुपर्ने आवश्यकता औँल्याइन् ।

मन्त्री डा गौतमले आफूले मन्त्रालयको जिम्मेवारी सम्हालेपछि मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राखेर व्यवस्थापकीय र नीतिगत सुधारको काममा लागिरहेको उल्लेख गरिन् । त्यसका लागि मातहतका स्वास्थ्य संस्थामा मनोपरामर्श सहायता कक्ष, ‘टेलिभेडिसिन’ सेवामार्फत विदेशमा रहेका श्रमिकहरूलाई पनि परामर्श दिने र स्वास्थ्य नीतिअनुसारका काम तथा सुधारमा आफू लागिरहेको उनले जानकारी दिइन् ।

प्रतिक्रिया