एसीसी यू-१९ एसिया कपका लागि अशोक धामीको कप्तानीमा १४ सदस्यीय नेपाली टोली घोषणा

काठमाडाैं । नेपाल क्रिकेट संघ (क्यान)ले अशोक धामीको कप्तानीमा एसीसी यू-१९ एसिया कपका लागि १४ सदस्यीय नेपाली टोली घोषणा गरेको छ । मंगलबार घोषणा भएको टोलीमा नेपाल प्रियिमर लिग (एनपीएल) खेलेका चार खेलाडी थपिएका छन् ।
टोलीमा अशोक धामी (कप्तान), अभिषेक तिवारी, साहिल पटेल, विपिनप्रसाद शर्मा, युवराज खत्री, निरजकुमार यादव (उपकप्तान), दिलसद अली, सिब्रिन श्रेष्ठ, दयानन्द मण्डल, निश्चल क्षेत्री, आशिष लोहार, चन्दन राम, रोशन विक, वंश क्षेत्री रहेका छन् ।
अफगानिस्तान क्रिकेट बोर्डको आयोजनामा प्रतियोगिता डिसेम्बर १२ देखि २१ सम्म यूएईमा हुँदै छ । समूह ‘बी’मा नेपालसहित श्रीलंका, अफगानिस्तान र बंगलादेश छन् । यस्तै, समूह ‘ए’मा भारत, पाकिस्तान, यूएई र मलेसिया छन् । दुवै समूहका शीर्ष दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् ।
नेपालले १३ डिसेम्बरमा श्रीलंकासँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । यसैगरी, नेपालले १५ डिसेम्बरमा बंगलादेश र १५ डिसेम्बरमा अफगानिस्तानको सामना गर्नेछ । नेपालले भर्खरै मलेसियामा सम्पन्न एसीसी यू-१९ प्रिमियर कपको उपविजेताको हैसियतले एसिया कपमा स्थान बनाएको हो । नेपालले १०औं पटक एसीसी यू-१९ एसिया कपमा प्रतिस्पर्धा गर्दै छ ।








प्रतिक्रिया