शनिबार, पुष ५, २०८२

‘समयमा काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गरिन्छ’

नेपालखोज २०८२ पुष ५ गते १४:०५

चितवन । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले विकास निर्माणका कामलाई प्राथमिकता नदिने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द गर्नेतर्फ सरकार लागेको बताएका छन् ।

उद्योग वाणिज्य सङ्घले आज यहाँ आयोजना गरेको अन्तक्र्रिया कार्यक्रममा उनले तीन हजार बढी सडक तथा पुलमा ठेक्का लागेको बताए । उनले भने, ‘तीन हजारभन्दा बढी सडक र पुलको ठेक्का छ, कुनै ठाउँमा त ठेकेदार कहाँ छ भन्ने पनि छैन, काम गर्नुपर्छ नभए ठेक्का तोड्छौँ भन्ने अवस्थामा हामी छौँ ।’ जनताले दुःख पाएको बताउँदै उनले जनताको आवश्यकताअनुसार सरकारले काम गर्ने बताए ।

विकास निर्माणसँगै नीतिनिर्माणमा परिवर्तन गर्न यो सरकारले खोजेको बताउँदै उनले देशलाई संस्थागत रुपमा निकास दिन जरुरी रहेको बताए । उनले यहाँका सप्तगण्डकी नदीमा पानी भण्डारण गरी जलाशय निर्माण गरेर विद्युत् उत्पादनसँगै विभिन्न पर्यटकीयस्थलको विकास गरिने बताए ।

पोखरा, भरतपुर र लुम्बिनी क्षेत्रलाई इलेक्ट्रिसिटी ग्रिन करिडोरका रूपमा विकास गर्ने काम अघि बढिरहेको उनले जानकारी दिए । शक्तिखोर औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिलाई सहज बनाइने उल्लेख गर्दै उहाँले यहाँ औद्योगिक क्षेत्र स्थापना हुनुमा आफू पनि सकारात्मक रहेको बताए ।

आगामी निर्वाचनपछि आउने नयाँ सरकारले नयाँ अनुहार र नयाँ सोच ल्याउनुपर्ने उल्लेख गर्दै उहाँले देशलाई समृद्धिको बाटोमा हिँडाउनसक्ने शक्ति आउनु आवश्यक रहेको बताए । जनताले देशलाई ठोस परिणाम दिनसक्ने नयाँ शक्ति सचेत रूपमा छान्नुपर्नेमा उहाँले जोड दिए । सो अवसरमा उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुमनकुमार श्रेष्ठले जिल्लाका समग्र व्यवसायीको समस्याका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया