सोमबार, पुष ७, २०८२

मधेश प्रदेशसभाका नवनियुक्त सभामुख यादवद्वारा पदभार ग्रहण

नेपालखोज २०८२ पुष ७ गते १४:१४

महेन्द्रनगर (धनुषा) । मधेस प्रदेशसभाका नवनियुक्त सभामुख रामअशीष यादवले आज पदभार ग्रहण गरेक छन् ।

जनकपुरधामस्थित प्रदेशसभा कार्यालयमा पदभार ग्रहण गर्दै उनले आफू कुनै दलको प्रतिनिधि नभई सम्पूर्ण प्रदेशसभाको साझा अभिभावकका रूपमा निष्पक्ष भूमिका निर्वाह गर्ने बताए ।

सभामुख यादवले राजनीतिक दलहरूबीच संवाद र सहकार्यलाई बढावा दिने समेत बताए । ‘मतभेद स्वाभाविक हो । तर, सहकार्य अपरिहार्य छ’, उनले भने ।

प्रदेशको हितका लागि सबै दलसँग समन्वय गर्दै अघि बढ्ने उनको भनाइ थियो । मधेसका मुद्दा समावेशिता, सुशासन, शिक्षा र स्वास्थ्यको पहुँच, रोजगारी सिर्जना र सीमावर्ती क्षेत्रका चुनौतीलाई संसदीय कार्यसूचीमा प्राथमिकताका साथ उठाइने उनले उल्लेख गरे ।

प्रदेशसभाले कार्यपालिकामाथि प्रभावकारी निगरानी कायम गर्नुपर्ने आवश्यकता औंल्याउँदै उहाँले बजेट कार्यान्वयन, सार्वजनिक खर्चको पारदर्शिता र सेवाप्रवाहको गुणस्तरमा सुधारका विषयमा संसद् सशक्त हुनुपर्ने विचार व्यक्त गरे । सभामुख यादवले प्रदेशसभालाई लोकतान्त्रिक मूल्य–मान्यताअनुसार प्रभावकारी, उत्तरदायी र मर्यादित रूपमा सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।

सभामा अनुशासन, समयपालन र स्वस्थ बहस संस्कृतिलाई संस्थागत गर्न आफू दृढ रहेको उल्लेख गर्दै सांसदहरूलाई रचनात्मक भूमिका निर्वाह गर्न आग्रह समेत गरेका हुन् । समितिहरूलाई सक्रिय बनाउँदै विधेयकहरूमा गहिरो छलफल, संशोधन र सहमति निर्माणमा सभामुखको भूमिकालाई प्रभावकारी बनाइने उनको भनाइ छ ।

प्रतिक्रिया