काजिनसारा तालको प्राविधिक तथा वैज्ञानिक अध्ययन गरिँदै

मनाङ । जिल्लाको चामे गाउँपालिका-४ सिङ्गरखर्कमा नयाँ ‘काजिनसारा ताल’ फेला परेको छ । योसँगै गाउँपालिकाले मौसम अनुकूल अवधिमा दोस्रो चरणको प्राविधिक तथा वैज्ञानिक सर्वेक्षण सञ्चालन गर्ने तयारी गरेको हो ।
सरोकार भएका निकायको सहभागितामा उक्त सर्वेक्षण गरिने गाउँपालिका कार्यालयले जनाएको छ । सर्वेक्षणमा भूउपग्रह मापन, जलविज्ञान परीक्षण, वातावरणीय जोखिम मूल्याङ्कन तथा अध्ययन गर्ने तयारी गरिएको चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घलेले जानकारी दिए ।
सर्वेक्षणपछि संरक्षण, विपद् न्यूनीकरण तथा स्थानीय समुदायसँगको समन्वयमा दीर्घकालीन व्यवस्थापनका योजना लागू गर्ने उद्देश्यले अध्ययन गरिने उनले बताए ।
प्रारम्भिक मापन सार्वजनिक भएपछि यसलाई विश्वकै सबैभन्दा उचाइमा अवस्थित ठूलो तालका रूपमा स्थापित गर्न सकिने सम्भावना भएकाले राष्ट्रियस्तरमै सर्वेक्षण प्रक्रिया अघि बढाइएको अध्यक्ष घलेले उल्लेख गरे ।
स्थानीयबासिन्दा तथा गोठालाले दिएका जानकारीका आधारमा चामे गाउँपालिका, नेपाल प्रहरी र स्थानीय प्रतिनिधि तथा तत्कालीन प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलसहितको संयुक्त टोलीले उक्त तालको सतह समुद्री सतहबाट करिब पाँच हजार २०० मिटरमा रहेको प्रारम्भिक अनुमान गरिएको अध्यक्ष घलेले बताए ।
“तालको विस्तृत अध्ययन आवश्यक छ । यदी सबैभन्दा अग्लो स्थानमा भएको पुष्टि भएमा विश्वमा प्रचारप्रसारका साथै दाबी गर्ने योजना बनाउनु पर्ने हुन्छ । यसलाई आधिकारिक रूपमा पुष्टि गर्ने तयारीमा हामीले कदम चाल्नेका छौँ”, अध्यक्ष घलेले भने ।
टोलीका अनुसार ताल अत्यन्तै दुर्गम क्षेत्रमा हिमाली भू–भागको बीचमा अवस्थित छ । पहुँचमार्ग कठोर, मौसम, उचाइ र जोखिमपूर्ण भौगोलिक संरचनाका कारण तालसम्म पुग्न कठिन भए पनि प्राप्त प्रारम्भिक विवरणले काजिनसारा ताललाई मनाङको मात्र नभई देशकै महत्त्वपूर्ण प्राकृतिक सम्पदाका रूपमा प्रचारप्रसार गर्नुपर्ने उनले बताए ।
तालको उचाइ, क्षेत्रफल तथा गहिराइको औपचारिक वैज्ञानिक प्रमाणीकरण भने अझै बाँकी रहेको गाउँपालिकाले जनाएको छ । काजिनसारा तालले मनाङको पर्यटन क्षेत्रमा नयाँ अध्याय थप्ने विश्वास पालिका अध्यक्ष घलेले व्यक्त गरे ।
उनका अनुसार तालसम्म सुरक्षित पदमार्ग निर्माण, आवतजावतका वैकल्पिक मार्ग पहिचान, पर्यटकमैत्री पूर्वाधार विकास तथा वातावरण संरक्षणलाई प्राथमिकता दिएर दीर्घकालीन योजना तयार पार्ने काम भइरहेको छ ।
अध्यक्ष घलेले सो क्षेत्र जैविक तथा भौगोलिक रूपमा संवेदनशील भएकाले योजनाबद्ध विकासमा पर्यावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य हुने बताए ।
ताल मापन गर्ने उद्देश्यले तत्कालीन प्रमुख जिल्ला अधिकारी ढुङ्गेल हेलिकोप्टरमार्फत त्यसतर्फ सर्वेक्षणमा पुगेका थिए । अध्यक्ष घलेका अनुसार तालको गहिराइको मापन हालसम्म उपलब्ध भएको छैन । प्रारम्भिक प्रतिवेदनमा ताललाई हिम नदीको जलस्रोतबाट बनेको उच्च हिमाली ‘ग्लेसियर’ (हिउँ र बरफबाट बनेको नदी) का रूपमा उल्लेख गरिएको उनले जानकारी दिए ।
ताल अवस्थित क्षेत्र चारैतिर प्रसिद्ध हिमशृङ्खलाले घेरेको प्राकृतिक महत्त्वपूर्ण क्षेत्र हो । पूर्वमा मनास्लु हिमाल, दक्षिणमा अन्नपूर्ण र लमजुङ हिमाल, पश्चिममा दामोदर हिमाल र उत्तरतर्फ तिब्बतस्थित पेरी हिमाल पर्ने हुँदा दृश्यावलोकनका दृष्टिले काजिनसारा ताल अत्यन्त आकर्षक छ । स्थानीय पर्यटन व्यवसायीका अनुसार यस ताललाई तिलिचो ताल, अन्नपूर्ण पदमार्ग तथा नार–फू क्षेत्रसँग समन्वय गरी पर्यटकीय सम्भावनाको रूपमा विकास गर्न सकिने देखिएको छ ।
हाल विश्वकै उच्च स्थानमा अवस्थित तिलिचो ताललाई चुनौती दिने तालका रूपमा काजिनसारा ताल रहेको छ । तिलिचो ताल (४,९१९ मिटर) भन्दा काजिनसारा ताल करिब ३०० मिटरमाथि रहेको प्रारम्भिक मापनले देखाएको छ । भौगोलिक उत्थान, हिमनदीको विस्तार तथा जलस्रोतको क्रमिक परिवर्तनका कारण विगतमा पहिचान गर्न नसकिएका उच्च हिमताल भेटिनु स्वाभाविक रहेको विज्ञहरूको भनाइ छ ।
नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोञ्जो तेन्जिङ लामाले नेपालकै अग्लो स्थानमा रहेको गाउँपालिका नार्पाभूमि भए पनि आधिकारिक रूपमा नापी विभागको अध्ययन टोलीले मापन नगरेको अवस्थामा काजिनसाराको विषयमा यसै भन्न नसकिने बताए । काजिनसारा विश्वकै अग्लो स्थानमा पर्ने तालको सूचीमा रहनु सबै मनाङीका लागि खुसी तथा गौरवको विषय बन्ने उनको भनाइ छ ।
यस तालको विषयमा अध्ययन तथा सर्वेक्षणमा सरकारको चासो हुनुपर्ने स्थानीयको भनाइ छ । यस तालको अध्ययन तथा सर्वेक्षण एवं मान्यताले पूर्ण भएमा नेपालले कजिनसारा ताल विश्वकै अग्लो स्थानमा अवस्थित भनेर दाबी गर्नुपर्ने देखिन्छ । रासस








प्रतिक्रिया