सोमबार, पुष ७, २०८२

‘निर्वाचनका लागि आयोग पूर्ण रूपमा तयार छ’

नेपालखोज २०८२ पुष ७ गते १८:४८

काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले आयोग सरकारको प्राथमिकताअनुसार आगामी फागुन २१ मा प्रतिनिधिसभा सदस्य निर्वाचन गराउन पूर्ण तयार रहेको बताएका छन् ।

सिंहदरबारमा आज प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा निर्वाचन आयोग, राजनीतिक दल, जेनजी प्रतिनिधि तथा सरोकार भएकाहरूबीच भएको छलफलमा उनले तोकिएको समयमै निर्वाचन गर्न आयोगले आवश्यक सबै तयारी पूरा गरिसकेको जानकारी गराए ।

‘सरकारले निर्वाचन मिति घोषणा भएको साढे चार महिना बितिसकेको छ, अब हामीसँग करिब दुई महिना मात्र बाँकी छ । आयोगले प्रक्रियागत रूपमा थोरै कामबाहेक सबै काम सम्पन्न गरिसकेको छ’, कार्यवाहक प्रमुख आयुक्त भण्डारीले भने ।

उनले मनोनयनपत्र दाखिल भइसकेपछि सुरक्षासम्बन्धी नीति तत्काल परिमार्जन नगरे निर्वाचनको समयमा समस्या आउनसक्ने भन्दै शान्ति सुरक्षासम्बद्ध निकाय र गृह मन्त्रालयलाई समयमै तयारीका लागि आग्रहसमेत गरे ।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले विगतमा गरिएको जोखिम वर्गीकरण यसपटक केही फरक देखिनसक्ने भन्दै सोहीअनुसार रणनीति अपनाएर तयारी गर्नुपर्नेमा जोड दिए ।

भण्डारीले गृह मन्त्रालयले शान्ति सुरक्षाका विषयमा आवश्यक प्रत्याभूति गरिसकेको र निर्वाचन आयोग तथा सरकारबीचको छलफलबाट सुरक्षामा कुनै कमजोरी नरहेको प्रतिबद्धता जनाइएको बताए ।

उनले फागुन २१ गते हुने निर्वाचनका लागि मौजुदा कानुनअनुसार कार्यविधि, निर्देशिका र आचारसंहिता पनि तर्जुमा भइसकेको जानकारी गराउँदै अब दलीय सहमति र सरकारसँगको समन्वयमा आचारसंहिता लागू गरिने उल्लेख गरे ।

बैठकमा समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको नाम पेस गर्ने समय परिवर्तन गर्दा निर्वाचन प्रक्रियामा धक्का लाग्ने भन्दै समय परिवर्तन नगर्न राजनीतिक दलसमक्ष आयोगले आग्रहसमेत गरेको छ ।

घोषित निर्वाचन गर्न छोटो समय र सीमित जनशक्ति रहेकाले तालिका परिवर्तन गर्दा असहज हुने कार्यवाहक प्रमुख आयुक्त भण्डारीले स्पष्ट पारे ।

प्रतिक्रिया