हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न

काठमाडाैं । नेपाल–चीन सांस्कृतिक आदानप्रदानलाई प्रव्रद्धन गर्ने उद्देश्यसहित आयोजना भएको हिमालयन रिम फिल्म प्रदर्शनी सम्पन्न भएको छ ।
काठमाडौं विश्वविद्यालयमा भएको प्रदर्शनीमा चिनियाँ एनिमेसन, प्रविधि र सांस्कृतिक कथाबीचको सम्बन्धलाई प्रस्तुत गरिएको थियो । प्रदर्शनीले नेपाली शैक्षिक समुदायलाई प्रविधि–सशक्त चिनियाँ एनिमेसन संस्कृतिको बहुआयामिक अनुभव प्रदान गरेको आयोजकको भनाइ छ ।
कार्यक्रमले चिनियाँ एनिमेसनमा प्रविधि र संस्कृतिको संयोजनलाई नजिकबाट अनुभूति गर्ने अवसर दिएको सहभागीले बताएका छन् । गत बुधबार ‘सेतो सर्प’ चलचित्रको प्रदर्शन, सिर्जनात्मक टोलीसँग अनलाइन अन्तरक्रिया तथा ब्लाइन्ड–बक्स गतिविधिहरू सञ्चालन गरिएका थिए ।
‘विगतको जीवनको भाग्य’ विषयमा आधारित चलचित्रले चिनियाँ पौराणिक कथाको समकालीन पुनःव्याख्या प्रस्तुत गर्दै दर्शकलाई गहिरो रूपमा आकर्षित गरेको थियो ।
गत बिहीबार आयोजित ‘फिङ्गरटिप क्रिएसन्स’ कार्यशाला कार्यक्रमको मुख्य आकर्षण बनेको थियो । कार्यशालामा नेपाली कलाकारहरूले परम्परागत हस्तनिर्मित कागज निर्माण प्रक्रिया प्रदर्शन गरेका थिए । विद्यार्थीहरूले स्थानीय रूपमा उपलब्ध पर्यावरण–मैत्री कागज प्रयोग गरी ‘नयाँ देवताहरू याङ जियान’, ‘सेतो सर्प’ र ‘हेई २’ जस्ता चिनियाँ एनिमेसन चलचित्रबाट प्रेरित पोस्टर तथा दृश्यात्मक कलाकृतिहरू सिर्जना गरेका थिए ।
यसले चिनियाँ एनिमेसन र नेपाली हस्तकला परम्पराबीचको सृजनात्मक फ्युजनलाई उजागर गरेको जनाइएको छ । सोही दिन नयाँ देवताहरू याङ जियान’को स्क्रिनिङ गरिएको थियो ।








प्रतिक्रिया