बिहीबार, पुष १०, २०८२

रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु

नेपालखोज २०८२ पुष १० गते १६:४६

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु गरेको छ । पार्टीले आज र भोलि ‘ब्लूप्रिन्ट संवाद’ तथा ‘शून्य समय’ कार्यक्रममार्फत आकांक्षीहरूको प्रस्तुति राख्ने व्यवस्था मिलाइएको प्रवक्ता मनिष झाले जानकारी दिए ।

दुई दिन पछि प्रारम्भिक निर्वाचनअन्तर्गत आन्तरिक मतदान (प्राइमरी भोटिङ) हुने जनाइएको छ । प्रवक्ता झाकाअनुसार यस प्रक्रियामा देशभरबाट निवेदन दिएका करिब चार सय आकांक्षी सहभागी छन् ।

तीमध्येबाट ११० जनाको नाम समानुपातिक बन्दसूचीमा समावेश गरी निर्वाचन आयोगमा बुझाइने छ । उम्मेद्वार छनोट तथा प्रतिस्पर्धाका सबै कार्यक्रम काठमाडौँको गोंगबुस्थित बिजी ब्याङ्क्वेटमा सञ्चालन भइरहेको छ ।

प्रवक्ता झाले यही पुस ५ गते आयोजित छलफलमा विशेष कारणवश सहभागी हुन नसकेका वा सहभागी हुन नपाएका समानुपातिक उम्मेद्वारका आकांक्षीहरूलाई पुनः छलफलमा सहभागी गराइने बताए । प्रारम्भिक निर्वाचन बाहेकका छनोट प्रक्रिया सम्पन्न गर्ने जिम्मेवारी पार्टी प्रवक्ता झा र सचिवालय सदस्य दीपक बोहोरालाई दिइएको छ ।

आवश्यकताअनुसार पार्टी उपसभापति डा स्वर्णीम वाग्ले र महामन्त्री कविन्द्र बुर्लाकोटीले उक्त प्रक्रियाको अनुगमन गर्ने बताइएको छ । प्रवासमा रहेका उम्मेद्वारका आकांक्षीहरूको मूल्याङ्कन ‘भर्चुअल’ माध्यमबाट गरिने छ ।

उम्मेद्वार छनोट समितिको प्रस्ताव तथा पार्टी उपसभापति डोलप्रसाद अर्याल र वाग्लेसँगको सहमतिमा छनोट प्रक्रियामा सहजीकरण गर्न केन्द्रीय समितिका सदस्यहरूसमेत सहभागी गराइने रास्वपाले जनाएको छ ।

प्रतिक्रिया