जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ४५ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा विभिन्न स्थानबाट ४५ जना पक्राउ परेका छन् । केन्द्रिय प्रहरी समाचार कक्षका अनुसार मोरङ, काठमाडौं, भक्तपुर र ललितपुरमा समेत गरी उक्त संख्यामा व्यक्तिहरु पक्राउ परेका हुन् ।
सो मध्ये मोरङको केराबारी गाउँपालिका ६ बस्ने भुपेन्द्र भट्टराईको घरमा तास खेलिरहेको अवस्थामा ५ जनालाई ८ लाख ८९ हजार दुई सय ५० रुपैयाँ र १३ बुक तास सहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा केराबारी गाउँपालिका ६ बस्ने ६० वर्षीय भुपेन्द्र भट्टराई, ४३ वर्षीय बोधराज मगर, सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने ३६ वर्षीय अरूण केसी, ३८ वर्षीय शैलेस भुजेल र सोही उपमहानगरपालिका ६ बस्ने ३६ वर्षीय हरि खत्री रहेका छन् । भुपेन्द्रको घरमा तास खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
यसैगरी भक्तपुरको भक्तपुर नगरपालिका १० कमलबिनायक बस्ने माधव सुवालको घरमा तास खेलिरहेको अवस्थामा माधव लगायत लगायत १२ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । माधवको घरमा तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ९० हजार ५ सय रुपैयाँ र ७ बुक तास सहित पक्राउ गरेको हो ।
काठमाडौं महानगरपालिका १५ बिजेश्वरीमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ चमति बस्ने काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ७ घर भएका २२ वर्षीय विक्रम लामा समेत १० जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त स्वयम्भुबाट खटिएको प्रहरीले उनीहरुलाई नगद एक लाख ५३ हजार ५ सय रुपैयाँ र ६ बुक तास सहित पक्राउ गरेको हो ।
यसैगरी ललितपुरको महालक्ष्मी नगरपालिका ७ चाँगाथलीस्थित शंखर बस्नेतको घरमा कौडा खेलिरहेको अवस्थामा भक्तपुर सूर्यविनायक नगरपालिका २ बस्ने ४९ वर्षीय सुरेश पौडेल लगायत १८ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त घरमा कौडा खलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ११ लाख ५४ हजारौ ५ सय ७५ रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जानाकरी दिएको छ ।








प्रतिक्रिया