बुधबार, पुष २, २०८२

कालोबजारी गरेपछि सेन्ट्रल मललाई २ लाख जरिवाना

नेपालखोज २०७७ कार्तिक २७ गते १०:५६

मोरङ । मोरङ व्यापार सङ्घका अध्यक्ष प्रकाश मुन्दडाद्वारा सञ्चालित सेन्ट्रल मल विराटनगरलाई कालोबजारी गरेकामा बुधबार रु २ लाख जरिवाना गरिएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण कार्यालय विराटनगरले अनुगमनको क्रममा खरिद मूल्यभन्दा दोब्बर बढी मुनाफा राखेर सामान बिक्री गरेको प्रमाणित भएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३९ (१) ख बमोजिम उक्त जरिवाना गरिएको कार्यालयका प्रमुख सन्तोष पोखरेलले बताए ।

मलले छुटसहितको बम्पर योजना सर्वसाधारणमा प्रचारप्रसार गरी उपभोक्तालाई भाइमसला काजुमा १११ प्रतिशत मुनाफा राखी बिक्री वितरणको गरेको थियो । कानूनअनुसार खरिद मूल्यको २० प्रतिशतभन्दा बढी लिएर सामान बिक्री गर्नु कालोबजारी र ठगी हो ।

कार्यालयले अनुगमनका क्रममा मलले तिहारमा प्रयोग हुने भाइमसला काजु बजारबाट रु १ हजार १६५ प्रतिकेजी खरिद गरी रु २ हजार २५० दरले बिक्री वितरण गरेको फेला पारेको थियो । मलले अत्यधिक मुनाफा राखेर काजु बिक्री वितरण गरेको भेटेपछि कारवाहीको दायरामा ल्याएको कार्यालय प्रमुख पोखरेलले जानकारी दिए ।

तिहारमा प्रयोग हुने भाइमसलामा चर्को मूल्य लिएर ठगी भइहरहेको जनगुनासो आएपछि बजारमा अनुगमन गरेकाे उनले बताए । मलका व्यवस्थापक गिरिश राठीले थोक बिक्रेताबाट काजु प्रतिकेजी रु १ हजार ८०० मा खरिद गरेकामा सोअनुसार बिलविजक प्राप्त नभएको बताए ।

प्रतिक्रिया