मंगलबार, पुष १, २०८२

आज भाइटिका, टीकाको उत्तम साइत ११:३७ बजे

नेपालखोज २०७७ मंसिर १ गते ५:००

काठमाडौं । हिन्दु धर्मावलम्बीहरुकाे दाेस्राे ठूलो र महत्वपूर्ण चाडको हो तिहार अर्थात यमपञ्चक । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म यमराज पनि आफ्ना दैनिक काम स्थगित गरी बहिनी यमुनाकहाँ अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई यमपञ्चक पनि भन्ने गरिन्छ ।

यमपञ्चक अन्तरगत तिहारको पाँचौं दिन आज भाइटीका, दिदीबहिनीले दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य एवम् ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी टीका लगाई मनाइँदैछ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई पञ्चरङ्गी टीका लगाउने गर्छन् ।

दिदीबहिनीलाई पूजा गरी अखण्ड सौभाग्य, सुखद् दाम्पत्य जीवन र ऐश्वर्य वृद्धिका लागि आशीर्वाद दिने शास्त्रीय विधान रहेको छ । यसपाली भाइटीकाको साइत बिहान ११ बजेर ३७ मिनेटमा उत्तम रहेको छ ।

आजका दिन दिदीबहिनी र दाजुभाइ नहुनेले धर्मदिदी बहिनी बनाएर पनि भाइटीका लगाउनुपर्छ भन्ने शास्त्रीय मान्यता समेत छ । दिदीबहिनी नहुनेका लागि हरेक वर्ष आजैका दिन काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिरमा सामुहिक टिका लगाउने चलन थियाे ।

सप्तरङ्गी टीका भनी विभिन्न ढङ्गले प्रचार प्रसार गरिए पनि तिहारमा लगाइने टीकाको रङ रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँच वटा भनी शास्त्रमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया