मंगलबार, वैशाख १८, २०८१

तीन महिनामा दुुई खर्ब ६१ अर्ब २२ करोड रुपैयाँको बैदेशिक व्यापार घाटा

नेपालखोज २०७७ मंसिर १० गते १७:२९

काठमाडौं । नेपालले चालुु आर्थिक बर्षको पछिल्लो तीन महिनाको अवधिमा दुई खर्ब ६१ अर्ब २२ करोड रुपैयाँ बराबरको बैदेशिक व्यापार घाटा बेहोरेको छ ।

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको बर्तमान आर्थिक तथा बित्तीय स्थिती सम्वन्धी तीन महिनाको प्रतिवेदनअनुसार यस अवधिमा कुुल वस्तु व्यापार घाटा १५ दसमलव एक प्रतिशतले घटेर उक्त अनुपातमा कायम रहेको हो ।

राष्ट्र बैंककाअनुसार चालुु आर्थिक बर्ष अर्थात आर्थिक वर्ष २०७७/७८ को तीन महिनामा कुल वस्तु निर्यात भने १४ दसमलव तीन प्रतिशतले वृद्धि भई ३१ अर्ब पाँच करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४ दशमलव चार प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत तथा अन्य मुलुकतर्फ क्रमशः १९ दशमलव चार प्रतिशत र सात दशमलव चार प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ५३ दसमलव दुुई प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा जुटका सामान, धागो (पोलिष्टर तथा अन्य), चाउचाउ, अलैंची, पश्मिना लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, दाल, जस्तापाता, हस्तकलाका सामान, छालालगायतका वस्तुको निर्यात घटेको छ ।

राष्ट्र बैंककाअनुसार चालुु आवको तीन महिनामा कुल वस्तु आयात १२ दसमलव सात प्रतिशतले घटेर दुुई खर्ब ९२ अर्ब २७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात १० दशमलव तीन प्रतिशतले घटेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः छ दसमलव छ प्रतिशत, २६ दसमलव नौ प्रतिशत र १९ प्रतिशतले घटेकोे छ ।

वस्तुगत आधारमा चामल, कच्चा सोयाविन तेल, दूरसंचारका उपकरण तथा पार्टपुर्जा, खाने तेल, कोइला लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ,यातायातका साधन तथा पार्टपुर्जा, हवाईजहाज तथा पार्टपुर्जा, अन्य मेसिनरी तथा पार्टपुर्जा, कच्चा पाम तेल लगायतका वस्तुको आयात घटेको छ ।

निर्याततर्फ सुख्खा बन्दरगाह, कैलाली, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा वृद्धि आएको छ । आयाततर्फ भैरहवा, विराटनगर, नेपालगञ्ज, कृष्णनगर र कैलाली भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

अघिल्लो वर्षको तीन महिनामा भने कुल बस्तुु व्यापार घाटा १२ प्रतिशतले ह्रास आएको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १० दसमलव छ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात आठ दशमलव एक प्रतिशत रहेको छ ।

प्रतिक्रिया