तामाकोशीका विद्यालय भोलीदेखि सञ्चालन हुँदै

दोलखा । दोलखाको तामाकोशी गाउँपालिकामा सञ्चालित सबै सामुदायिक विद्यालय आगामि सोमबारदेखि नियमित सञ्चालन हुने भएका छन् । गाउँ शिक्षा समितिको निर्णयअनुसार गाउँपालिकाले यही मङ्सिर १५ गतेभित्र विद्यालय सञ्चालन गर्ने भएको हो ।
विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण शुरुआत नै हुन नसकेको शैक्षिकसत्र खेर जान नदिन स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै विद्यालय सञ्चालन गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले विद्यार्थी सङ्ख्याका आधारमा आधारभूत तहका विद्यालय नियमित रुपमा सञ्चालन गर्ने तथा माध्यमिक तहसम्मको कक्षा सञ्चालन भएका विद्यालयलाई भने आफ्नो विद्यार्थी सङ्ख्याको चापलाई ध्यानमा राखी स्वास्थ्य सुरक्षा मापदण्डको पालना हुने गरी एउटा कक्षामा २५ जनासम्म विद्यार्थी राखी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ ।
गाउँपालिकाले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रधानाध्यापसँग छुट्टाछुट्टै छलफल गरी उपयुक्त राय र सुझावका आधारमा विद्यालय सञ्चालन गर्न लागेको शिक्षा शाखा प्रमुख मेनुका बाँस्कोटाले जानकारी दिए । स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन विद्यालयलाई आवश्यक पर्ने मास्क, स्यानिटाइजर, हात धुने साबुनलगायत सामग्री गाउँपालिकाले उपलब्ध गराउने भएको छ ।








प्रतिक्रिया