शुक्रबार, पुष ४, २०८२

के तपाई ट्राफिक लाइटलाई बेवास्ता गरी सवारी साधन चलाउनु हुन्छ ?

नेपालखोज २०७७ मंसिर १६ गते १२:५३

काठमाडौं । के तपाई ट्राफिक लाइटलाई बेवास्ता गरि सवारी साधन चलाउनु हुन्छ ? होसियार, ट्राफिक कक्षामा बस्नु पर्ला है ! ट्राफिक प्रहरी महाशाखाले हिजो अर्थात मंसिर १५ गते सोमबारदेखी ट्राफिक लाईट उल्लंघन गर्ने चालकहरुलाई अनलाइन मार्फत ट्राफिक सचेतना कक्षा लिने व्यवस्थाको शुरुवात गरेको छ ।

लकडाउनअघि ट्राफिक कारबाहिमा परेका चालकहरु स्वयं बग्गीखाना गएर आफै ट्राफिक कक्षामा सहभागी हुनुपर्ने परिपाटीको अन्त्य गर्दै हालको कोरोना भाइरस संक्रमणको अबस्थालाई समेत मध्यनजर गरी महाशाखाले ट्राफिक सचेतना कक्षालाई प्रबिधिको प्रयोग मार्फत निरन्तरता दिने भएको छ ।

महाशाखा प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले लामो समयको लकडाउन र कोरोना संक्रमणको जोखिम यथावत नै रहेकोले चालकहरुलाई कक्षा कोठामा उपस्थित गराएर कक्षा संचालन गर्दा जोखिम झन बढ्न सक्ने देखिएकोले त्यस्ता चालकहरुको लागी हामीले घरमै बसेर भर्चुअल क्लास लिने व्यवस्था गरेको बताए ।

उनले रातो बत्तीमा समेत गाडी हुँइक्याउने र जथाभावी बाटो क्रस गर्ने पैदलयात्रुको बानीले दुर्घटनाको सम्भावना बढ्ने र सडक जाम समेत हुन्छ, यस्तो प्रबृत्तिलाई निरुत्साहित गर्न र ट्राफिक लाइटको पुर्ण पालना गराउन कारबाहिका साथै ट्राफिक कक्षा लिने व्यवस्था गरेको जानकारी दिए । लामो समय देखी बग्गीखानामा लिदै आएको ट्राफिक सचेतना कक्षा कोरोना भाइरस संक्रमणको जोखिमका कारण बन्द भएको थियो ।

यस अघि महाशाखाले मादक पदार्थ सेवन गरी सवारी चलाउने र लेन अनुशासनको पालना नगर्ने चालकहरुलाई मात्र ट्राफिक कक्षा लिदै आएकोमा अब देखि ट्राफिक लाईटको बेवास्ता गरी रातो बत्तीको उल्लंघन गर्ने चालकहरुले समेत अनिबार्य कक्षा लिनुपर्ने व्यवस्था गरेको छ । हाल उपत्यकाको २५ स्थानमा ट्राफिक लाईटको माध्यमबाट चोकहरुको व्यवस्थापन हुँदै आएको छ । सडक अनुशासन तथा सडक संस्कार एउटा सभ्य समाजको ऐना हो भन्ने कुरालाई आत्मसाथ गर्दै ट्राफिक लाईट भएका त्यस्ता चोकहरुमा चालक र पैदल यात्रीले ट्राफिक बत्तिको पालना गर्ने हो भने ट्राफिक व्यवस्थापनमा सहजता हुन्छ भने सवारी दुर्घटनामा समेत कमी आउँछ । यस्तो प्रतिकुल अबस्थामा प्रबिधिको प्रयोगमार्फत सचेतना कक्षा संचालन बढि उपयोगी एव लाभदायिक हुने र यसले आम चालकहरुमा अनलाईन सचेतना कक्षा लिने प्रबृत्तिमा समेत बृद्धि हुने महाशाखाको अपेक्षा छ ।

सचेतना कक्षा सम्बन्धि दैनिक तालिका तथा कक्षाको लिङ्क समेत महाशाखाको अफिसियल फेसबुक पेज https//www.facebook.com/ktmtraffic मा प्रकाशित गरिने छ । ट्राफिक कारबाहीमा परि सचेतना कक्षामा अनिबार्य समाबेश हुनुपर्ने चालकहरुले सोहि फेसबुक पेजको लिङ्क मार्फत निर्धारित समय भन्दा अगावै समाबेश हुनुपर्ने छ । एक घण्टाको सचेतना कक्षामा समाबेश हुन सम्बन्धित चालकले ट्राफिक प्रहरीले दिएको चिटको नम्बर प्रयोग गरि रजिष्ट्रेसन गर्नुपर्ने व्यवस्था मिलाइएको छ । थप जानकारीको लागि ट्राफिक प्रहरीको हटलाईन १०३ सम्पर्क गर्न समेत महाशाखाले आग्रह गरेको छ ।

प्रतिक्रिया