शनिबार, पुष ५, २०८२

राजश्व अनुसन्धानद्वारा पाँच वटा कम्पनी विरुद्द मुद्दा

नेपालखोज २०७७ मंसिर १७ गते २१:३०

काठमाडौं । राजश्व अनुसन्धान विभाग हरिहर भवन पुल्चोकले पाँच वटा कम्पनीविरुद्द मुद्दा दर्ता गरेको छ ।

विभागले झुट्टा तथा नक्कली मूल्य अभिवृद्दिकर विजक प्रयोग गरी राजस्व चुहावट गरेको कसुरमा राउत ट्रेड कन्सर्न, पि.आर. के. ट्रेड ईन्टरनेशनल, मिनजा इन्टरनेशनल प्रा.लि, क्रेटा इन्टरप्राइजेज र रमण कन्स्ट्रक्सन कम्पनी र यि कम्पनीका सञ्चालकहरुविरुद्द ४१ करोड रुपैयाँ असुल उपर गरी जरिवाना र कैद सजाय समेत मागदावी गर्दे मुद्दा दर्ता गरेको हो ।

विभागले बुधबार झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी राजस्व छली गर्ने उदयपुर जिल्ला त्रियुगा नगरपालिका १२ स्थित राउत ट्रेड कन्सर्नका प्रोप्राईटर कमल बहादुर राउतसहित दुई जनाबाट चार करोड १६ लाख ४६ हजार १६२ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको जानकारी दिएको छ ।

त्यसैगरी दोलाखा जिल्ला तामाकोशी गाउपालिका स्थित पि.आर. के. ट्रेड ईन्टरनेशनलका प्रोप्राईटर लहुमन माझीबाट पाँच करोड ५६ लाख आठ हजार सात सय ३८ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी मुद्दा दर्ता गराएको छ ।

त्यस्तै विभागले बारा जिल्ला परवानीपुर स्थित मिनजा इन्टरनेशनल प्रा.लि. का संचालक रामवावु साहानीबाट दुुई करोड १९ लाख १२ हजार ३९ विगो असुल गरी जरिवाना र कैद मागदावी मुद्दा दर्ता गराएको छ । विभागले पर्सा वेलवा गा.बि.स. ३ स्थित क्रेटा इन्टरप्राइजेजका प्रोप्राईटर नबिकरिम अन्सारीसहित तीन जनाबाट आठ करोड २४ लाख ६० हजार सात सय ६५ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई मुद्दा दर्ता गराएको छ ।

यसैगरी विभागले झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्ने धनुषा, रघुनाथपुर स्थित करदाता रमण कन्स्ट्रक्सन प्रा.लि. लाई २० करोड ८७ लाख ६४ हजार छ सय २९ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई पाटनमा मुद्दा दर्ता गराएको छ ।

प्रतिक्रिया