मंगलबार, असार १७, २०८२

औद्योगिक विकासमा सरकार, रोजगारदाता र ट्रेड युनियनबिच सहकार्य हुनुपर्नेमा जोड

नेपालखोज २०७७ मंसिर २३ गते १८:१४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज श्रम मन्त्रालयमा एक स्वागत कार्यक्रम आयोजना गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवको समुपस्थितिमा आयोजित उक्त कार्यक्रममा महासंघका नवनिर्वाचित पदाधिकारीहरूका तर्फबाट अध्यक्ष शेखर गोल्छाले समग्र अर्थतन्त्रको सुदृढिकरणका लागि ट्रेड युनियन, रोजगारदाता र नेपाल सरकार बीचको त्रिपक्षीय सहकार्यमा जोड दिएका छन् ।

मन्त्रालयका सहसचिव विनोदप्रकाश सिंह, महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल, उपाध्यक्षहरू दिनेश श्रेष्ठ, अंजन श्रेष्ठ, रामचन्द्र संघई र कोषाध्यक्ष सुकुन्तलाल हिराचन सहभागी भएको सो कार्यक्रममा अध्यक्ष गोल्छाले कोभिडपश्चात् उद्योग व्यवसायसहित समग्र अर्थतन्त्रको पुनरूत्थानका लागि त्रिपक्षीय सहकार्यमा जोड दिए । नेपालको श्रम उत्पादकत्व दक्षिण एशियामै कमजोर रहेकाले श्रम उत्पादकत्व बढाउने कार्यमा जुझारू भएर लाग्नुपर्ने सुझाव उनले दिए ।

श्रम तथा सामाजिक सुरक्षा ऐनमा रोजगारदाता परिषदका तर्फबाट महासंघले धेरै सुझावहरू दिएको स्मरण गर्दै उनले सोही ऐन अन्तर्गत आएको सामाजिक सुरक्षा कोषप्रति अझै पनि श्रमिक कामदार कर्मचारीको आकर्षण बढ्न नसकेको बताए । श्रमिक कर्मचारी आकर्षित गर्न नसक्नु कोषको सवैभन्दा ठूलो चुनौती रहेको भन्दै अध्यक्ष गोल्छाले कोषप्रति आकर्षण बढाउन पनि सहकार्यको आवश्यकता रहेको बताए । साथै, उनले स्वदेशी श्रमिक कामदारको दक्षता अभिवृद्धिमार्फत् नेपालमा कार्यरत वाह्य देशका कामदारहरू विस्थापन गर्ने नीति सरकारको हुनुपर्ने सुझाव दिए ।

अध्यक्ष गोल्छाले अहिले पनि एकाध उद्योगहरूमा विभिन्न माग राखी उद्योग बन्द गर्ने कार्य भएकाले यसमा सरकारले तत्तकाल हस्तक्षेप गरी उद्योग संचालन गर्ने वातावरण बनाउनुपर्ने माग
गरे । आउने दिनमा श्रम सम्बन्धलाई थप मजवुद बनाउँदै उद्योगको व्यवसायिक विकासमा सरकारलाई हर तरहले सहयोग गर्न महासंघ तयार रहेको पनि उनले श्रम मन्त्रीलाई विश्वास दिलाए । साथै सो अवसरमा महासंघका पदाधिकारीहरूबाट कोभिडका कारण सामूहिक सौदावाजी(सीबीए) को समयलाई एक वर्ष पछाडि लैजानुपर्ने, विभिन्न संस्थाहरूबाट छरिएर दिइने तालिमलाई एकिकृत रूपमा संचालन गर्नुपर्नेलगायतका सुझावहरू दिइएको थियो ।

भेटवार्तामा श्रम मन्त्री यादवले महासंघका नवनिर्वाचित पदाधिकारीहरूलाई स्वागतसहित बधाई दिँदै मुलुकको औद्योगिक विकासमा सरकार, रोजगारदाता र ट्रेड युनियन बीच अझ बढी सहकार्यका साथ अगाडि बढ्नुपर्नेमा जोड दिए । श्रममन्त्री यादवले मुलुकभित्र उत्पाकत्व अभिवृद्धिका लागि उचित तालिमको आवश्यकता रहेकाले श्रम मन्त्रालय दक्ष जनशक्ति उत्पादनका लागि सातै प्रदेशमा स्तरीय तालिम प्रतिष्ठानहरू संचालन गर्ने योजनामा रहेकाले महासंघसँग समेत यसमा सहकार्यको अपेक्षा गरेको बताए । साथै उनले आफू र आफ्नो मन्त्रालयले महासंघले दिएका सुझावहरूलाई वुँदागत रूपमा आगामी दिनमा छलफल गर्दै जाने बताए ।

प्रतिक्रिया