शनिबार, पुष ५, २०८२

पेयजल सुरक्षासंबन्धी अन्तर्राष्ट्रिय वेबिनार

नेपालखोज २०७७ मंसिर २६ गते १२:१६

काठमाडौं । पेयजल सुरक्षाका सम्बन्धमा भैरहेको अन्तराष्ट्रिय वेबिनारमा आज खानेपानी पद्धतिको उन्नत प्रविधि र स्मार्ट वाटर ग्रिडका उपकरणहरु बारेमा छलफल हुने भएको छ । वेबिनारका आयोजक स्मार्ट वास सोलुसन्स प्रा.लि.का अध्यक्ष ई.रामदीप साहले आज प्रस्तुत गरेने कार्यपत्रहरु नेपालको खानेपानी प्रणालीलाई बढी स्मार्ट बनाउने सन्दर्भका निकै उपयोगी हुने बताएका छन् ।

एशियन इन्स्टिच्यूट अफ टेक्नोलजी एशिया जलवायु परिवर्तन शाखाका प्रमुख प्राध्यापक मुकुन्द बाबेलले जलसुरक्षा र दीगो विकासका एजेण्डामा, इन्टरनेशनल सेन्टर फ अर्बन वाटर हाइड्रोइन्फरमेटिक्स रिसर्च एण्ड एण्ड इन्नोभेसनका डा.सोडजुन बियोनले पुराना शहरहरुको पानीको चुहावट नियन्त्रणमा स्मार्ट वाटर ग्रिडका उपकरणको उपयोगिता सम्बन्धमा, इचोन नेशनल युनिभर्सिटीका सहप्राध्यापक डोड.वू जाड.ले खानेपानीको स्रोत र खानेपानी प्रणालीको व्यवस्थापनमा स्मार्ट वाटर ग्रीडको सम्बन्धमा कार्यपत्रहरु प्रस्तुत गर्नेछन् ।

चार दिवसीय वेबिनारको आज अन्तिमदिन भएकोले प्रमाणपत्र वितरण र समापन मन्तव्यको कार्यक्रम पनि रहेको छ । बिहीबार बेविनारको तेस्रो दिन ड्रिम इञ्जिनियरिड.कोरियाका उपाध्यक्ष डा. जु ह्वान किमले स्मार्ट वाटर ग्रिड वाटर सप्लाईका बारेमा कोरियाको अनुभवमा आधारित कार्यपत्र प्रस्तुत गरेका थिए ।

त्यस्तै इचोन नेशनल युनिभर्सिटीका प्राध्यापक योड. सिक होडाले पानी सुरक्षणमा सूचना, सञ्चार र प्रविधिको उपयोगको बारेमा कार्यपत्र प्रस्तुत गरे भने वेबिनारको तेस्रो शत्रमा नेपालका शहरहरुमा स्मार्ट वाटर म्यानेजमेण्टका बारेमा स्मार्ट वास सोेलुसन्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत ई.हरिप्रसाद शर्माले कार्यपत्र प्रस्तुत गरेका थिए ।

बुधबार जलवायु परिवर्तन र यसले जल सुरक्षामा पारेको असरका बारेमा पाँच वटा कार्यपत्र प्रस्तुत भएका थिए । सो दिन सेजोड विश्वविद्यालयका प्रा.ह्यून हान क्वानले जलवायु परिवर्तन अध्ययनमा हालैका न्यूनतम् तथ्यांकीय शैली विश्लेषणमा भएको उन्नति, काठमाडौं विश्वविद्यालयका प्राध्यापक डा. मनिष पोखरेलले जलवायु परिवर्तन र स्मार्ट वाटर म्यानेजमेण्टमा स्मार्ट प्रविधिको उपयोगसम्बन्धी, हर्विन इन्स्टिच्युट टेक्नोलोजीका पीएचडी स्कलर मनित थापाले केन्द्रीय हिमालयहरुका जलवायु परिवर्तन र पानीको उपलब्धता,त्रिभुवन विश्वविद्यालयको केन्द्रिय वातावरण विज्ञान विभागकी डा. इन्दिरा पराजुलीले नेपालका विद्यालयहरुमा बर्षातको पानी संकलनमा स्मार्ट वास बिषयक र वाटर एडका खानेपानी,सरसफाई र स्वच्छता विज्ञ इञ्जिनियर कविन्द्र पुडासैनीले पानीको अभाव र सामुदायिक वास रिजिलेन्समा कार्यपत्र प्रस्तुत गरेका थिए ।

नेपालमा पानीका स्रोतहरुको संरक्षण, पानीको संरक्षण र बहुउद्देश्यीय किफायती उपयोग गर्नका लागि स्मार्ट प्रविधि, स्मार्ट म्यानेजमेण्ट पद्धति अबलम्बन गर्ने तथा वर्तमान र भावि पुस्ताका लागि खानेपानी सुरक्षाको सहज अवस्था सिर्जना गर्ने उद्देश्यले स्मार्ट वास सोलुसन्स प्रा.लि र कोरियाको इन्टरनेशनल सेन्टर फर अर्वन वाटर हाइड्रो इन्फरमेटिक्स (आइसीएचयू) को संयुक्त आयोजना तथा जल सुरक्षा दीगो व्यवस्थापनका लागि यूनेस्कोको अन्तर्राष्ट्रिय केन्द्र र स्मार्ट वाटर ग्रिड समाजको आतिथ्यमा यही मंसिर २३ देखि २६ गतेसम्म भविष्यका लागि जल सुरक्षा मञ्च २०२० विषयक चार दिवसीय अन्तराष्ट्रिय वेबिनार आयोजना भैरहेको छ ।

वेबिनारमा प्रस्तुत कार्यपत्र तथा विज्ञहरुका विचारहरु नेपालका तीनै तहका सरकारका जिम्मेवार पदाधिकारी, नीति निर्माता, योजनाविद्, विधायक, स्थानीय तहका पदाधिकारीहरु, उपभोक्ता समूह, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि तथा आम उपभोक्ता समक्ष पुर्याई नेपाललाई जल सुरक्षा पर्याप्त भएको मुलुकका रुपमा राख्न र नेपाली नागरिकलाई पर्याप्त स्वच्छ, सफा र गुणस्तरीय पानीका माध्यमबाट स्वस्थ्य र दीर्घजीवि राख्न सघाउने आयोजकहरुको विश्वास छ ।

नेपाली जनतालाई खानेपानी र पानीजन्य सरसफाईको बारेमा जानकारी दिने, स्वच्छ खानेपानीका प्राकृतिक स्रोतहरुको संरक्षण, जलवायु परिवर्तनका प्रतिकूल असरलाई न्यूनिकरण गर्ने, देशलाई स्वच्छ राख्दै आम नागरिकलाई रोगमुक्त राख्ने अभिप्रायले स्थापित स्मार्ट वास सोलुसन्सले नेपालका नीति निर्माता, संबन्धित क्षेत्रका विज्ञ, प्राज्ञ,अनुसन्धानकर्ता तथा वैज्ञानिक, अभ्यासकर्ता र आम उपभोक्ता नेपालीहरुलाई एकै स्थानमा ल्याएर खानेपानी र ढल प्रशोधनका विषयमा निकै उपलब्धिमूलक गोष्ठिहरु सम्पन्न गर्दै आएको छ ।

प्रतिक्रिया