हिमालय क्षेत्रको महत्व बुझ्न विश्व समुदायसँग प्रधानमन्त्री ओलीको अपिल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालय क्षेत्रको महत्वलाई चिन्न विश्व समुदायलाई आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले क्लाइमेट एक्स समिट–२०२० लाई सम्बोधन गर्दै हिमालय जोगाउन विश्व तापमान नियन्त्रण गर्न आग्रह गरेका हुन् ।
भर्चुअल रुपमा क्लाइमेट एम्बिसन सम्मेलनमा बोल्ने क्रममा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘कोभिड–१९ को कारणले हामीले कोप–२६ पछि सार्नु परेको छ तर सफा र हरियाली पृथ्वीको हाम्रो आकांक्षालाई हामी सार्न सक्दैनौं ।’
ओलीले नेपालले पेरिस सम्झौतालाई पूर्णरुपमा समर्थन गर्ने र तापमान वृद्धिलाई १।५ डिग्री राख्ने लक्ष्यलाई समर्थन गर्ने बताए ।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनो गुटारेसले बिश्व जगतलाई जलवायु आपतकाल घोषणा गर्न अपील गरेका छन् ।
महासचिव गुटरेसले वातावरण मैत्री तथा जलवायु परिवर्तनको प्रभाव कम हुने खालको विकासका लागि गरीब राष्ट्रहरुलाई सहयोग गर्ने प्रतिबद्धताबाट धनी राष्ट्रहरु पछि हटेको आरोप लगाएका छन् ।
यसअघि धनी राष्ट्रहरुले सन् २०२० देखि वार्षिक सय बिलियन अमेरिकी डलर बराबरको रकम गरिब देशमा स्वच्छ विकास र जलवायु परिवर्तन अनुकुलन कार्यक्रमका लागि सहयोग गर्ने वचन दिएका थिए ।
जलवायु महत्वाकांक्षा सम्मेलनमा सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीले गरेको सम्बोधन
१२ डिसेम्बर २०२०
महामहिमज्यूहरु,
विशिष्ट महानुभावहरु, ।
यस सम्मेलनकाे आयोजना गर्नुभएकोमा म चिली, फ्रान्स, इटाली, संयुक्त अधिराज्य र संयुक्त राष्ट्र संघको नेतृत्वको सराहना गर्दछु ।
कोभिड–१९ ले हामीलाई कोप–२६ स्थगन गर्न बाध्य तुल्यायो । तथापि, सफा एवं हरित धरा निर्माण सम्बन्धी हाम्रा अभियान स्थगित हुन सक्दैनन्। नेपाल पेरिस सम्झौता एवं विश्वव्यापी तापक्रम १.५ डिग्रीमा सीमित राख्ने आह्वानको दरिलो समर्थन गर्दछ ।
हामी जलवायु उत्थानशील विकासको प्रर्बद्धनका लागि प्रतिबद्ध छौं र कार्बन-शून्य अर्थतन्त्रको लक्ष्यतर्फ गतिशील छौं । हरित बृद्धि र हरित पुनरुत्थान प्रर्बद्धनका लागि हामीले सफा तथा नवीकरणीय उर्जा उत्पादनलाई प्राथमिकता दिएका छौं, विद्युतीय परिवहन, न्यून कार्बन पूर्वाधार र पर्या-पर्यटनको प्रर्बद्धन गरेका छौं ।
हामीले सन् २०३० सम्ममा संरक्षित क्षेत्र विस्तार गरी २३ प्रतिशतबाट ३० प्रतिशत पुर्याउने र जैविक विविधताको जर्गेना गर्ने लक्ष्य लिएका छौं । विश्वव्यापी तापक्रम बृद्धि नियन्त्रण गर्न र समुद्रको पर्यावरणीय संन्तुलन कायम राख्न हिमालयको महिमा बोध गर्नका लागि म विश्वलाई आग्रह गर्दछु ।
नेपालले यस वर्षको अन्त्यसम्ममा परिस्कृत एनडीसी प्रस्तुत गर्नेछ र सन् २०५० भित्र शून्य:प्राय कार्बन उत्सर्जनको परिदृश्यमा पुग्न महत्वाकांक्षी दीर्घकालीन रणनीति तर्जुमा गर्नेछ । हामी सन् २०२१ सम्ममा राष्ट्रिय अनुकूलन योजना एवं तदनुकूल जलवायु वित्त रणनीति र मागचित्र निर्माण गर्दैछौं ।
सन् २०३० सम्ममा हामी सबै ७५३ वटै स्थानीय तहमा जलवायु उत्थानशील अनुकूलन योजना लागू गर्नेछौं । यी महत्वाकांक्षाहरु लागू गर्नका लागि हामीलाई जलवायु वित्तमा सहज र पर्याप्त पहुँच अत्यावश्यक हुन्छ । हरित यात्रामा एकसाथ अघि बढ्न हामीले सबै मुलुकहरुको साथ अपेक्षा गर्दछौं । धन्यवाद ।








प्रतिक्रिया