हस्तकला उद्योगहरुद्वारा अर्थतन्त्रमा २० अर्बको योगदान, ११ लाखलाई रोजगारी

काठमाडौं । निर्यात व्यापार, रोजगारी सिर्जना र अन्तराष्टिय बजारमा नेपालको पहिचान कायम गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाली हस्तकलाको प्रवद्र्धनका लागि सरकार नीतिगत सुधार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले हस्तकलाको प्रवद्र्धनका साथै निर्यातलाई प्रतिस्पर्धी बनाउन सरकार नीतिगत सुधार गर्न तयार रहेको बताएका छन् ।
हस्तकला समृद्धिका सम्भावना भन्ने नाराकासाथ नेपाल हस्तकला महासंघले आफ्नो ४८ औं बार्षिकोत्सब नवौं हस्तकला दिवस र हस्तकला बर्षको आइतबार शुभारम्भ गर्दै उनले यस्तो बताएका हुुन । उनले निर्यातलाई प्रतिस्पर्धी बनाउन र कोरोनाबीच पनि हस्तकला व्यवसायलाई गति दिन सरकारकातर्फ के कस्तो नीतिगत सुधार गर्नुपर्ने हो, सो बारेमा सुझाव दिन महासंघलाई आग्रह गरेका हुुन । साथै मन्त्री गुरुङले हस्तकलाको अनलाइन मार्केटिङका लागि पनि मन्त्रालय सहजीकरण गर्न तयार रहेको बताएका छन् ।
उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडले निर्यात प्रवद्र्धनका लागि उत्पादनलागत घटाउन मन्त्रालयले सहयोग गर्ने बताए । उनले हस्तकला निर्यातको धेरै सम्भावना रहे पनि अपेक्षाअनुसार निर्यात बढ्न नसकेकोमा चिन्ता व्यक्त गर्दै उत्पादन लागत घटाउँदै हस्तकलाको विविधिकरण जोड दिनुपर्ने बताए ।
उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव वैकुण्ठ अर्यालले उत्पादन लागत घटाउँदै र गुणस्तरीय उत्पादनमा जोड दिनुपर्ने बताए । उत्पादन लागत घटाउन सरकारले सहजीकरण गर्नसक्ने भएपनि गुणस्तरीय उत्पादनका लागि व्यवसायी नै लाग्नुपर्ने उनको भनाइ छ ।
सविच अर्यालले अमेरिकाले नेपाललाई ७७ वटा वस्तुमा भन्सार सहुलियत दिएको भएपनि नेपालले उक्त सहुलियतको सदुपयोग गर्न नसकेको पनि उनले गुनासो गरे । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र कार्यकारी निर्देशक शरद विक्रम राणाले हस्तकलाको प्रवद्र्धनका लागि अनलाइन मार्केटिङमा जोड दिए ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष सकुन्तलाल हिराचन, नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले पनि हस्तकलाको प्रवद्र्धनका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाएका थिए । नेपाल हस्तकला महासघका अध्यक्ष सुरेन्द्र भाइ शाक्यले हस्तकला व्यवसायमा समस्याबारेमा ध्यानाकर्षण गराएका थिए । भने महासंघका उपाध्यक्ष एवं ४८ औं वार्षिकोत्सव तथा नवौं हस्तकला दिवस समितिका संयोजक रविन्द्र शाक्यले हस्तकला बर्षका कार्यक्रमबारे जानकारी गराएका थिए । महासंघल हस्तकला वर्षका लागि २५ बुँदे वार्षिक कार्यक्रम घोषणा गरेको छ ।
कोरोनाबाट प्रभावित हस्तकला उद्योग व्यवसायलाई पूर्ववत अवस्थामा पु¥याउने उद्देश्यका साथ वार्षिक कार्यक्रम तय गरिएको समितिका संयोजक शाक्यले जानकारी दिएका थिए । वार्षिक कार्यक्रम अन्तर्गत त्रैमासिक बुलेटिन नियमित प्रकाशन गर्ने, जिल्ला तथा बस्तुगत संघलाई सुदृढिकरण गर्ने, समसामयिक बिषयबस्तुमा वेभिनार तथा सेमिनार गोष्ठी आयोजना गर्ने, व्यवसायिक अनलाईन मार्केटमा पहुँच बृद्धि गर्दै जाने, महिला उद्यमी मेला मार्फत महिला उद्यमीलाई ब्यवसायिक रुपमा संगठित गर्दै जाने, आन्तरिक बजार प्रर्बद्धन गर्न त्रैमासिकरुपमा क्रेता बिक्रेता भेला आयोजना गर्ने कार्यक्रम रहेको संयोजक शाक्यले बताए ।
त्यसैगरी बस्तुगत विधाको लागि सामूहिक ट्रेडमार्कको अवधारणा कार्यान्वयन गर्ने, हस्तकलासंग इन्टेरियर डिजाईनिंङ समायोजन गर्ने, मूर्त तथा अमूर्त कला सस्कृतिको प्रवद्र्धन गर्ने, डिजाइन तथा डिसप्ले कक्ष तयार गर्ने, कलाकारहरुका परिचयपत्र प्रदान गर्ने, अर्र्धवार्षिक कला प्रर्दशनी आयोजना गर्ने, बिधागत हेरिटेज वाक आयोजना गर्ने, बिभिन्न बस्तु बिद्याको प्रवद्र्धनको लागि छोटो डकुमेन्ट्ररी तयार गर्ने, प्याकेजिङ र लेवलिङ योजना तयारी गर्ने, बिशुद्ध हस्तकलाको पहिचान गर्दै जाने, लिभिङ लेजेन्ट इन ह्याण्डिक्राफ्टको पहिचान गरी सम्मान गर्दै जाने, बिधागत हस्तकलाको विभिन्न मिडियामार्फत प्रकाशमा ल्याउने आदि कार्यक्रम रहेका छन् ।
त्यसैगरी बढिभन्दा बढी बस्तुगत संघ र ७ वटै प्रदेशका जिल्ला संघलाई महासंघमा आवद्ध गरी ७ वटै प्रदेशमा महासंघको पहुच बिस्तार गर्ने, हस्तकला उद्योग व्यवसायको क्षेत्रमा विद्यमान नीतिगत तथा प्रक्रियागत समस्या समाधानका लागि नेपाल सरकारलगायत सम्बन्धित निकायमा पैरवी गर्दै जाने, हस्तकलामैत्री निर्यातमुखी ऐन,कानून नीति नियम तर्जुमा र समयसापेक्ष परिमार्जनका लागि नेपाल सरकारसँग पहल र पैरवी गर्ने, सार्क हस्तकला विकास केन्द्र संचालन र हस्तकलाग्राम स्थापना र हस्तकला बिकास नीति कार्यान्वयनको लागि नेपाल सरकार समक्ष पहल गर्ने, मेड इन नेपाल एण्ड मेक इन नेपालको प्रतिस्पर्धी अवधारणा बिकास गर्ने र प्रचलित विद्युतीय प्रविधि, संचार तथा आर्थिक कारोबार र व्यवसायिक संजालको समयसापेक्ष उपयोग गर्ने जस्ता कार्यक्रम रहेका छन् ।
महासंघले २०७७ मंसिर २८ गते महासंघसँग आवद्ध १६ जिल्ला हस्तकला संघ, ११ वस्तुगत संघ सहित उद्यमी, ब्यवसायी, निकासीकर्ता, हस्तकला क्षेत्रका गैरसरकारी संस्था, सहकारी संस्था, कलाकार कालिगढहरु गरी १६०० क्रियाशिल सदस्यहरु बीचमा ४८ औं वार्षिकोत्वस, नवौं हस्तकला दिवस तथा हस्तकला बर्ष घोषणा कार्यक्रम मनाउने भएको छ ।
कोभिड १९ को असर पर्यटन उद्योग ब्यवसाय पछि हस्तकला उद्योग ब्यवसाय क्षेत्रमा अत्यधिक रुपमा परेको जनाएको छ । बिशेषगरी पश्चिमी मुलुकमा बढी आश्रित हस्तकला उद्योग ब्यवसायले रोजगारी सिर्जना गरी निर्यात ब्यापार मार्फत बिदेशी मुद्रा आर्जन गरी देशको अर्थतन्त्रमा बिदेश निर्यात र आन्तरिक उपभोग गरी २० अर्बको हाराहारीमा राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याउने आएको हस्तकला उद्योग ब्यवसाय र ११ लाख भन्दा बढि ब्यक्तिहरु प्रत्यक्ष तथा परोक्ष रुपमा संलग्न रहेको छ । कोभिड १९ को प्रभावबाट धरासायी हुन पुगेको अवस्था छ ।








प्रतिक्रिया