सोमबार, पुष ७, २०८२

भौतिक पूर्वाधारमन्त्री नेम्वाङद्वारा चन्द्रागिरि नगरपालिकाका निर्माणाधीन पूर्वाधारको अवलोकन

नेपालखोज २०७७ पुष ३ गते १९:४५

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङ र शहरी विकासमन्त्री कृष्णगोपाल महर्जनले चन्द्रागिरि नगरपालिका–१५ स्थित निर्माणाधीन पूर्वाधारको अवलोकन गरेका छन् । उनिहरुले आज संयुक्तरूपमा त्यहाँस्थित पार्क, सडक र पुलको निरीक्षण गरेका हुन् ।

शहरीमन्त्री श्रेष्ठ र भौतिकमन्त्री नेम्वाङले काठमाडौँ क्षेत्र नं ९ र १० जोड्ने बल्खु पुल, भीराडिल खाइके साकुरा पार्क र विष्णुदेवी मन्दिरलगायत अनुगमन गरे । मन्त्री श्रेष्ठले बल्खुस्थित पुल निर्माण गत वर्ष शुरु भएकामा प्रगति राम्रो देखिएको बताएका छन् । हालसम्म सो पुलको ८० प्रतिशत काम सकिएको छ । वडा नं १५ देशकै उत्कृष्ट स्थानीय तहको वडा भएको उनको जिकिर छ ।

बल्खुको भीर पाखालाई वडाध्यक्ष उत्तमबहादुर राउतको पहलमा नयाँ नाम र काम शुरु भएको उनले बताए । भीरमा हिँड्न पैदलयात्रु मार्ग र दृष्य हेर्ने ठाउँ बनाइएको छ भने ५० वटा साकुराका फूल रोपिएका छन् । फूल रोपेको जापानी राजदूतावासले अहिले पनि यसमा चासो देखाएको उनले बताए । उनले भने, “यो ठाउँ काठमाडौँ उपत्यका र देशकै हेर्न लायक ठाउँ बनिरहेको छ ।” सो पार्कको अवलोकन गर्न आएका प्रधानमन्त्री केपी शर्मा ओली पत्नी राधिका शाक्य प्रभावित भएको मन्त्री श्रेष्ठले बताए ।

माथिल्लो भागमा झोलुङ्गे पुल तल सुन्दर पार्क भएकाले धेरैको आकर्षणको केन्द्र बनिरहेको उनको भनाइ छ । उनका अनुसार बालबालिकालाई लक्षित गरेर मोनो रेल निर्माण भइरहेको सो स्थान भविष्यमा विदेशी पर्यटकसमेत आउने छन् । त्यस्तै उनले सात गाउँले जात्रा हुने विष्णुदेवी मन्दिर धार्मिक र ऐतिहासिक ठाउँ भएको बताएका छन् । सो ठाउँको विस्तृत अध्ययन गर्न वडाध्यक्ष राउतलाई जिम्मेवारी दिइएको छ ।

मन्त्री नेम्वाङले एक वर्ष पहिले शुरु गरिएको बल्खु पुलको निर्माण राम्रो ढङ्गले अघि बढेको पाइएको बताए । चन्द्रागिरि र किर्तिपुर गरी काठमाडौँका दुई नगरपालिका जोड्ने सो पुल समयमै सम्पन्न गर्न मन्त्रालयकै कार्यन्वयन गर्ने निकाय, स्थानीय तह, निर्माण व्यवसायी सबैलाई निर्देशन दिइएको उनले बताए। आजको स्थलगत भ्रमणले भौतिक पूर्वाधारका क्षेत्रमा छोटो अवधिमा पनि काम हुनसक्छ भनेर देखिएको उनले बताए । उनले भने, “वर्षा र कोभिड नभएको भए पुलमा अहिले गाडी चलिसक्थ्यो ।”

प्रतिक्रिया