शनिबार, पुष ५, २०८२

चिनियाँ नाका बन्द हुँदा नेपालमा फलफुलको भाउ ह्वात्तै बढ्यो

नेपालखोज २०७७ पुष १४ गते ९:३१

काठमाडौं । छिमेकी देश चीनसँगको उत्तरी नाका बन्द हुँदा नेपालमा महँगी बढेको छ । फलफुल, लत्ताकपडालगायत मेसिनरी सामानको भाउ ह्वात्तै बढेको हो ।

कोरोना भाइरसको जोखिम रहेको कारण देखाउँदै चीनले लामो समयदेखि नाका बन्द गरेको छ । स्वास्थ्य सामग्री ल्याउनका लागि बिरलै मात्र खुल्ने यो नाकाबाट कहिलेकाहीँ फाट्टफुट्ट अन्य सामग्री पनि भित्रने गरेको छ । तर त्यो पर्याप्त नहुँदा चीनबाट ल्याउने सामानको ढुवानी महँगो पर्न थालेको छ ।

चीनसँगको मुख्य नाका तातोपानी र केरुङ ठप्प हुँदा भारतको कोलकाता हुँदै सामग्री नेपाल ल्याउनुपर्ने बाध्यता छ । ढुवानीको लागत बढ्दा नेपालमा अहिले फलफुलको भाउ पनि आकासिएको छ । कोरोना भाइरसको जोखिमसँगै बजारमा स्याउको भाउ २५ देखि ३० प्रतिशले बढेको छ । सय रुपैयाँमा पाइने स्याउ अहिले खुद्रामा दुई सय ५० रुपैयाँसम्म पुगेको छ । ढुवानी खर्च पनि यही अनुपातमा बढेकाले भाउ बढेको नेपाल फलफुल थोक व्यवसायी सङ्घका कोषाध्यक्ष काशीराम सापकोटाले बताए ।

नाकामा सहज आवागमन नहुँदा नेपाल आउने स्याउ चीनबाट भारतको कोलकातासम्म पानीजहाजमा ल्याइन्छ । त्यसपछि भारतीय गाडीमार्फत काँकडभित्ता र त्यहाँबाट नेपाली गाडीमार्फत स्याउ काठमाण्डौलगायत नेपाली बजारमा ल्याउने गरेको नेपाल फलफुल थोक व्यवसायी सङ्घका कोषाध्यक्ष काशीराम सापकोटाले बताएका छन् । यसले गर्दा ढुवानी खर्च बढेको उनको तर्क छ ।

त्यस्तै पछिल्ला केही दिनयता पानीजहाजको भाडा पनि बढेकाले नेपाली बजारमा स्याउको भाउ अझै बढ्न सक्ने उनको अनुमान छ । आउँदो माघ महिनाको दोस्रो हप्तादेखि स्याउको भाउ अझै बढ्न सक्ने उनले बताएका न् ।

तातोपानी र केरुङ नाकाबाट सजिलै आवागमन हुँदा सस्तो जातका स्याउ नेपाल भित्रने गरेको थियो । तर नाका बन्द हुँदा छिटो खरिद बिक्री हुने सस्तो जातको स्याउ ल्याउन समस्या भएपछि लामो समयसम्म नबिग्रने गुणस्तरीय जातको स्याउ ल्याउँदा पनि महँगो पर्न गएको उनको भनाइ छ ।

प्रतिक्रिया