शुक्रबार, पुष ४, २०८२

एन.ए.सि.जि अध्यक्षमा बेनुमाया गुरुङ र सह-अध्यक्षमा किरण थापा

नेपालखोज २०७७ पुष १४ गते १९:१६

काठमाडौं । एनएसिजि नेपालको चौंथो वार्षिक साधारण सभा तथा अधिवेशन सफलतापूर्वक सोमबार सम्पन्न भएको छ । उक्त अधिवेशनले आगामी २ वर्षको लागि अध्यक्षमा एटवीन् की बेनुमाया गुरुङ र सह–अध्यक्षमा कन्सोर्टियम नेपालका किरण थापालाई चयन गरेको छ ।

उक्त अधिवेशनले पाँच सदस्यीय सल्लाहकार समिति गठन गर्दै समितिको संयोजकको रुपमा बालअधिकार अभियन्ता कृष्ण सुवेदीलाई चयन गरेको छ । सभाले बाल अधिकारसँग सम्बन्धित आठ वटा संजाललाई सदस्यता समेत प्रदान गरेको छ । उक्त कार्यक्रममा बोल्दै एनएसिजि नेपालका निवर्तमान अध्यक्ष कृष्ण चन्द्र आचार्यले नयाँ अध्यक्ष तथा सह–अध्यक्षलाई बधाईका साथै विगतमा झैं आउने दिनमा पनि एनएसिजि नेपाललाई साथ दिने प्रतिवद्धता व्यक्त गरे । कार्यक्रममा बाल अधिकारसँग सम्वन्धित संजालका प्रतिनिधिहरु तथा बाल अधिकार अभियन्ताहरुको उपस्थिति रहेको थियो । हाल एनएसिजिका नेपालमा सत्र वटा सदस्य संजालहरु रहेका छन् ।

सन् २०१०, जुनमा सार्क सदस्य राष्ट्रहरुको मन्त्रीस्तरीय बैठकले सार्कको एपेक्स, वडीको रुपमा साउथ एशियन ईनिसियटिभ टु ईन्ड भ्वाईलेन्स अगेन्सट् चिल्ड्रेन अर्थात “साईबाक”को स्थापना गर्ने निर्णय गरेको थियो । दक्षिण एशियामा बालबालिका माथि हुने हिंसा अन्यका लागि सरकारी र नागरिक समाजको सहभागिता सुनिश्चित गर्नु साईबाकको उद्देश्य हो । त्यसैगरी प्रत्येक दक्षिण एशिया राष्ट्रहरुका सरकारीसँगै सम्वन्धित मन्त्रालय राष्ट्रिय संयोजक रहने र नागरिक समाजको सुनिश्चितता सँगसँगै साईबाकसँग काम गर्न प्रत्येक दक्षिण एशिया राष्ट्रहरुमा बाल हिंसा विरुद्ध क्रियाशिल राष्ट्रिय कार्य समन्वय समूह अर्थात एनएसिजि गठन भएको हो ।

प्रतिक्रिया