मंगलबार, वैशाख १८, २०८१

कहिलेसम्म प्रयोग गर्ने मधेसी जनतालाई ?

'धोती, कुर्ता, गम्छा मधेसीके शान बा केपी ओली हमनी सबके जान बा'

हरिकृष्ण खतिवडा ‘अपरूष’ २०७७ पुष २६ गते १३:११

काठमाडौं । उखु किसानले उखुको भुक्तानी नपाएर माइतीघर मण्डलामा प्रदर्शन एवं खबरदारी गरिरहँदा मधेसी दाजुभाइले तिनलाई फिटिक्कै साथ र सहयोग दिएनन्, तर संसद विघटनपछि प्रधानमन्त्री केपी शर्मा ओली समूहलाई सहयोग गर्न मधेसी दाजुभाइ शनिबार संघीय राजधानीमा धोती जुलुस निकाल्न पछि परेनन् । उनीहरुको नारा थियो ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा केपी ओली हमनी सबके जान बा’ यसले हामी नेपालीहरुलाई राजनैतिक परजीवी प्राणी एवं स्वयंको मुद्दामा मौन बस्ने बुद्धिहीन मनुख्येको रुपमा प्रमाणित गरेको छ ।

सरकारले उखु किसानको मुद्दालाई कुनै गम्भीर रुपमा लिएन । यसक्रममा एक आन्दोलनरत उखु किसानको समेत ज्यान गयो । मृत्यु हुनेमा सर्लाही रामनगरका किसान नारायणभगत यादव थिए ।

उनले सर्लाहीको अन्नपूर्ण सुगर मिलबाट १५ लाख रुपैयाँभन्दा बढी वक्यौता लिन बाँकी थियो । यसपटक पैसा हातमा परेपछि मात्र आन्दोलन फिर्ता गर्ने मनसाय लिएर किसानहरू काठमाडौंकेन्द्रित आन्दोलनका लागि आएका थिए ।

तर, २१ दिनभित्र सबै रकम भुक्तानी गर्ने सम्झौता गरी किसानले आन्दोलन स्थगित गरेको सुने पनि यादव चिन्तित थिए । उनले बेलुकातिर आफन्त र किसान साथीभाइसँग आन्दोलन स्थगित गरेर पैसा पाउने आश कम रहेको बताएका थिए ।

यादवको मूल पेसा नै उखु खेती हो । उनले चार–पाँच वर्षदेखि मिललाई उखु दिए पनि त्यसवापतको पैसा नपाउँदा मानसिक चिन्तामा थिए । गाउँघरमा चर्को ब्याजमा उनले उखुखेती लगाउन र घर–व्यवहार चलाउन ऋण लिएका थिए । यसपटक काठमाडौं केन्द्रित आन्दोलनबाट पैसा आएपछि ऋण तिर्ने उनको योजना थियो ।

मधेसी जनताले आफ्नो पहिचान र हक अधिकारलाई संविधानमा समेट्नुपर्ने माग राख्दै केहि समय अघि संविधान संसोधनको माग राखेर आन्दोलनमा उत्रिएका थिए । त्यतिबेला मधेसी जनतालाई ओलीले खिल्ली उडाएको घटना ताजै छ । ती बयलगाडे मनुवा मधेसी जनतालाई मधेसी नभनेर तराइबासी भनी सम्बोधन गर्दछन् । आज उनलाई आफ्नो आन्द्रा जोडिएका प्रचण्ड माधवको साथ छैन तब उनको रुखो हृदयमा मधेसीप्रति माया जागेर आएको छ । उनको मधेसीप्रतिको घृणा मायामा परिवर्तन भएको हो वा हात्तीको देखाउने दाँत र टोक्ने दाँत फरक–फरक भए जस्तो मात्र हो ?

भुक्तानी नपाएका किसान महिनौं काठमाडौंको चिसो भुँइमा श्रमको मूल्यको निम्ति कठ्याङ्ग्रिएनन् मात्रै ज्यान नै गुमाए । हेपाहा सरकारले तिनकोे मुद्दालाई अवहेलना मात्र गरेन अपितु छिछि र दुर्दुर नै गर्यो । सरकारको आँखामा ती गरिब किसान झिँगा समान ठहरिए, तर जब सरकारलाई कथित शक्तिप्रदर्शन गर्नुपर्यो तब उसलाई तिनै मधेसी दाजुभाई चाहियो र उनीहरुलाई राातारात काठमाडौं ल्याइयो, अनि भन्न लगाइयो ‘केपी ओली हमनी सबके जान बा ।’

प्रधानमन्त्री ओली कहिलेदेखि ‘बा’ भएछन् प्रश्नमाथि प्रतिप्रश्न गर्न मन लाग्छ ।

शनिबार युवा संघ नेपालको आफ्नो पक्षको बृहत् भेला आयोजना गरेको ओली समूहले बानेश्वरदेखि कमलादीसम्म पैदल तथा मोटरसाइकल र्‍याली निकालेको थियो ।

र्‍यालीलाई ‘धोती जुलुस’को नाम दिइएको थियो । जुलुसमा सहभागी केहीले धोती कुर्ता लगाएर ‘धोती, कुर्ता, गम्छा मधेसीके शान बा, केपी ओली हमनी सबके जान बा’ लेखिएको ब्यानर बोकेका थिए । र्‍यालीमा सहभागीहरुले ‘अगाडि बढ केपी बा, ज्यान दिन तयार छौं’, ‘साइबर सेना आउँदैछ’ जस्ता नारा लगाएका थिए ।

मूलतः मधेसीको मुद्दाहरुलाई कुनै पनि पार्टीले हृदयङ्गम गरेका छैनन् । यदि मधेसीप्रति कुनै दलले हृदयतः माया गरेका थिए भने मधेसी जनताका तमाम समस्याहरु कमसेकम आधाउधी भने पनि हल हुने थियो । मधेसी जनतालाई मधेसवादी दलहरुले मात्र झुक्याएका छैनन् अपितु कांग्रेस कम्युनिष्ट सबै तिनलाई ठग्ने अनेक बहानाबाजी गर्दछन् । चुनावमा त अझै यो टड्कारो रुपमा देखिने गर्छ । प्रचण्डले गत चुनावमा मधेसीसँग आफ्नो लभ परेको भनेर भाषण गर्नु त्यही ठगीको नमुना थियो । मधेसी जनतालाई सबै दलले प्रयोग मात्र गर्नु दुःखको कुरा हो ।

उखु किसानको मुद्दा मधेसकै मुद्दा थियो, तर त्यसलाई मधेसी जनताले नै साथ दिएनन् । ओली बा, ओली बा गर्नुको साटो किसानको समस्यामा मधेसी जनताले साथ दिँदा हुन् त मधेस साँच्चै समृद्ध हुन सक्ने थियो । राजनीतिक समस्यामा यसरी सक्रिय हुने मधेसी जनता मधेसका तमाम समस्यामा सक्रिय हुनु जरुरी छ । ‘हमनी सबके जान बा, केपी ओली बा’ मात्र भन्दै गर्दा मधेसमा जाडोको कारण ज्यान गुमाइरहेका हजुरबा हजुरआमाको समस्यामा कसले बोलिदिने ? केपी बा अहिले सरकारमै छन् तिनले यस्ता समस्यालाई नजरअन्दाज गरेका छन् त ? कतिन्जेल हामी विदेशमा रहेका नेपालीले जम्मा गरेको न्यानो अभियानले मधेसी जनताको जाडो थेग्न सकौंला ? के केपी बा, ओली बा भन्नाले उखु किसानले न्याय पाउन सक्लान् त ? मधेसको गरिबी र अशिक्षा एन्जिओको हातमा सुम्पिएर केपी बा, ओली बाको नाराले मधेस समृद्ध बन्ला त ?

प्रतिक्रिया