मंगलबार, वैशाख १८, २०८१

प्रहरीलाई हातपात गर्ने तेस्रो लिङ्गी समुदायका १६ जना पक्राउ

नेपालखोज २०७७ माघ १० गते १०:३५

काठमाडौं । प्रहरीमाथि हातपात गर्ने तेस्रो लिङ्गी समुदायका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ।

प्रहरी प्रभागमा तोडफोड गर्नुका साथै ढुङ्गामुढासमेत गरेपछि स्थिति नियन्त्रणमा लिन महानगरीय प्रहरी वृत्त महाराजगञ्जबाट टोली खटिएर गएको थियो। वृत्तमा ल्याइएपछि अवाञ्छित गतिविधि गर्ने अन्य थप तीन जनालाई पनि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुलाई अभद्र व्यवहारमा आज म्याद थप गरी अनुसन्धान शुरु गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रदीपकुमार श्रेष्ठले जानकारी दिए। प्रहरी बरिष्ठ उपरीक्षक श्रेष्ठका अनुसार सर्वसाधारणलाई हैरानी दिएको गुनासो आएपछि महानगरीय प्रहरी प्रभाग नयाँ बसपार्कमा उनीहरुलाई सोधपुछका लागि ल्याइएकोमा प्रहरी टोलीमाथि नै उनीहरुले हातपात गरे । त्यसपछि प्रहरीले उनीहरुलाई हिरासतमा लिएको छ ।

कार्यस्थलमा खटिएका प्रहरी टोलीलाई उनीहरुले हातपात गरेका र टेबलका सिसा फुटाएका थिए। त्यसपछि फुटेको सिसा हातमा बोकेर प्रहरीलाई र आफैँसमेतलाई हानेर चोट पुर्याएको महानगरीय प्रहरी कार्यालयले आज एक विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रतिक्रिया