रोजगारीका क्रममा मलेसियामा निधन भएका १७ नेपालीको शव काठमाडौं ल्याइयो

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा मलेसियामा निधन भएका १७ नेपालीको शव लिएर नेपाल एयरलाइन्सको वाइडबडी विमान काठमाडौं आइपुगेको छ ।
शव लिन शुक्रबार राति वाइडबडी ए ३३० जहाज मलेसियाको क्वालालम्पु गएको थियो । शनिबार वाइडबडी विमानमार्फत १७ नेपालीको शव ल्याइएको हो ।
वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा काम गर्न गएका नेपाली विभिन्न कारणले ज्यान गुमाएर त्यहाँ अलपत्र अवस्थामा थिए । मृतकका परिवारको पीडालाई बुझेर निगमले नाफाभन्दा पनि सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शव ल्याएको निगमका प्रवक्ता करिश्मा श्रेष्ठले बताए ।
नेपाली कामदारको शव लिनकै लागि निगमले वाइडबडी जहाज प्रयोग गरेको हो । वाइडबडी जहाजमा १८ वटा शव बोक्ने क्षमता हुन्छ ।
निगमले दुई वर्षअघि अफगानिस्तानबाट पनि नेपालीको शव ल्याएको थियो । निगमले कोभिड–१९ महामारीको संक्रमणमा अन्तर्राष्ट्रिय उडान प्रतिबन्ध गरिएको अवस्थामा पनि उद्धार उडान तथा कोभिडका औषधिजन्य सामग्री ल्याउन महत्वपूर्ण भूमिका खेलेको थियो । निगमले दुई थान न्यारोबडी जहाज ए ३२० र दुई थान वाइडबडी ए३३० जहाजमार्फत भारतका तीनसहित सात देशका नौ गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ ।
प्रतिक्रिया