मंगलबार, वैशाख १८, २०८१

सुरु भयो नागरिक पेन्सन योजना

नेपालखोज २०७७ माघ १५ गते १६:१७

काठमाडौं- नागरिक लगानी कोषले नागरिक पेन्सन योजना सुरु गरेको छ । सर्वसाधारण नागरिकलाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशका आर्थिक विकासमा परितालित गर्ने र सक्रिय जीवनकालमा जम्मा गरेको रकमबाट बचतकर्ताको जीवनयापनलाई सहजीकरण गर्ने उदेश्यले नागरिक पेन्सन योजना कार्यान्वनयनमा ल्याइएको कोषका कार्यकारी निर्देशक रमन नेपालले जानकारी दिए ।

यस योजनामा आयआर्जन गर्ने जोसुकै, प्रचलित कानून बमोजिम स्थापना भएका सङ्घ, संस्था एवं प्रतिष्ठानमा कार्यरत श्रमिक-कर्मचारी, स्वरोजगारमा रहेका सर्वसाधारण र गैरआवासीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक सहभागी हुन सक्ने छन् ।

अनलाइनमार्फत नै सो योजनामा सहभागी हुन सकिने भएको छ । सबै नेपालीलाई सहभागी गराउने गरी ल्याइएको योजना भएको हुँदा इन्टरनेट सेवा पुगेका स्थानबाट सहभागी हुन इच्छुकले सजिलै सहभागी हुन सक्ने कोषले जनाएको छ ।

योजनामा सहभागी हुने बचतकर्ताले न्यूनतम मासिक रु ५०० देखि अधिकतम आम्दानीको क्षमताअनुसार १० ले भाग जाने सङ्ख्यामा रकम जम्मा गर्न सक्ने छन् । बचतकर्ताको आम्दानीको आधारमा मासिक-त्रैमासिक-अर्धवार्षिक-वार्षिक रुपमा पनि रकम जम्मा गर्न सकिने छ ।

पेन्सन प्राप्त गर्न बचतकर्ताको उमेर साठी वर्ष पूरा भएको र कम्तीमा १५ वर्ष योगदान गरेको हुनुपर्नेछ । बचतकर्ताले १५ वर्ष नपुग्दै रकम फिर्ता लिन चाहेमा वा १५ वर्ष पश्चात एकमुष्ठ रकम लिन चाहेमा त्यसको ब्याज र प्रतिफल भुक्तानी लिन सक्नेछन् ।

सहभागीले गरेको बचत, त्यसको ब्याज र कोषको लगानीबाट प्राप्त प्रतिफल जोडी हुन आउने कूल रकमलाई १७० ले भाग गर्दा हुन आउने रकम प्रत्येक महिना जीवन कालभर पेन्सन पाउन सक्ने व्यवस्था नागरिक पेन्सन योजनामा गरिएको छ।

प्रतिक्रिया