सोमबार, असार २३, २०८२

प्रचण्ड–नेपाल पक्षको सभाका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त

नेपालखोज २०७७ माघ २८ गते ११:४८

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षले आज गर्न लागेको विरोध सभा र शक्ति प्रदर्शनका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । बिहान ९ बजेदेखि नै रिङरोड भित्रका सडकहरूमा निकै लामो जाम देखिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार उपत्यकाको जामलाई मध्यनजर गरेर ठूला सवारी साधनलाई रिङरोड भित्र आउन दिइएको छैन ।

बालाजु, नयाँ बानेश्वर, कुपण्डोल, रत्नपार्क, माइतीघर लगायतका क्षेत्रमा आन्दोलनकारीहरूको भेलाका कारण ती क्षेत्रमा सवारी आवागमन ठप्प जस्तै भएको छ ।

लगातारको आन्दोलन र जुलुसका कारण उपत्यकाको सडक अस्तव्यस्त देखिएको छ ।

पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपाको प्रचण्ड–नेपाल पक्ष आन्दोलित छ ।

दिनदिनैको आन्दोलन र जुलुसले आफ्नो रोजीरोटी लागि गन्तव्यमा जानुपर्ने श्रमिक र जागिरमा जानेहरू हैरानीमा परेका छन् ।

प्रतिक्रिया