पुरानो काग र लिम्पियाधुरा नामको दुई हाइकुसंग्रह विमोचित

काठमाडौं । साहित्यकार इरान राईका दुई हाइकु संग्रह पुरानो काग र लिम्पियाधुरा नामको दुई कृति विमोचित भएका छन् ।
बिहीबार एक कार्यक्रमबीच सार्वजनिक गरिएको राईका पुरानो कागमा ७६ वटा हाइकु १.३१ वर्ग सेन्टिमिटर र लिम्पियाधुरा ६६ वटा हाइकु १.३१ वर्ग सेन्टिमिटर आकारका पुस्तकमा छन्।
कार्यक्रममा साहित्यकार अनिल पौडेलले सार्वजनिक भएका पुस्तक सम्भवत विश्वको सबैभन्दा सानो साहित्यिक कृति हुन सक्ने बताए। ‘साहित्यका विधामध्ये हाइकु संग्रहित यी कृतिहरू आकारमा सानो भएपनि महत्वपूर्ण र ऐतिहासिक रहेको छ,’ उनले भने, ‘यदि अनुसन्धान गर्यो भने यी पुस्तकहरु विश्वको सबैभन्दा सानो पुस्तक हुन सक्छ।’
पत्रकार तथा सम्पादक अरुण बरालले लेखकमाथि प्रकाश पारे। प्राध्यापन पेशाको अलवा समावेशिता तथा साहित्यका विविध विधामा राईको योगदान महत्त्वपूर्ण रहेको बताए। ‘राईले साहित्यका विधामा मात्र होइन, समाजमा भएका विसंगतिलाई पनि समाधान गर्न चालेका कदम सराहनीय छ,’ बरालले भने, ‘मोफसलमा भएर पनि होला उहाँको प्रतिभा अलि छायामा पर्नुभएको हो जस्तो मैले महसुस गरेको छु।’ राईले कविता तथा हाइकु लेखनमा कुशल क्षमता प्रस्तुत गरेको बरालले दावी गरे।
प्रतिक्रिया