मंगलबार, वैशाख १८, २०८१

गाउँपालिका भवनको शिलान्यास गर्न पुगेका डा रिजाल माथि नेकपा कार्यकर्ताको अवरोध

नेपालखोज २०७६ असोज १३ गते ८:०३

 

१३ असोज, दमौली । तनहुँ जिल्लाको ऋषिङ गाउँपालिकाको भवन गर्न पुगेका पूर्व मन्त्री एवं नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजाललाई नेकपाका कार्यकर्ताहरुले अवरोध गरेका छन् ।
गाउँपालिकाको भवन शिलान्यास गर्न पुगेका नेता रिजालले नेकपाका कार्यकर्ताहरुको अवरोध हुँदा हुँदै पनि भवनको शिलान्यास गर्नु भएको छ। ऋषिङ गाउँपालिका–७ पोखरीभञ्ज्याङमा निर्माण गरिन लागिएको सो भवनको आइतबार पूर्वमन्त्री तथा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले शिलान्यास गर्नुभयो ।

वडास्तर, गाउँसभा र गाउँ कार्यपालिकाको शतप्रतिशत सहमतिको निर्णयमा पोखरीभञ्ज्याङमा गाउँपालिकाको भवन बनाउने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । गाउँपालिकाको केन्द्र बनाउने सवालमा कुनै पनि गाउँसभाको सदस्यको असहमति नभएको हुँदा पोखरीभञ्ज्याङमा नै भवन बनाउन लागिएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । रु तीन करोड ६१ लाखको लागतमा सो भवन निर्माण हुन लागेको हो ।

यसैबीच गाउँपालिकाको भवन शिलान्यास गर्ने कार्यक्रमलाई नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का कार्यकर्ताले अवरोध गरेका थिए । उनीहरुले तत्कालीन सर्वदलीय संयन्त्र र जिल्लास्तरको प्राविधिक समितिको सिफारिस र निर्णय विपरीत पोखरीभञ्ज्याङमा गाउँपालिकाको भवन बनाउन लागिएको भन्दै शिलान्यास कार्यक्रममा अवरोध गरेका थिए ।

गाउँपालिका बन्दको कार्यक्रमसमेत आयोजना गरिएको थियो । उनीहरुले प्रमुख अतिथि आउने सडक भिमाद–ऋषिङ सडकमा रुख ढालेर अवरोधसमेत गरेका थिए । बन्द र अवरोधका बाबजुद प्रहरीको कडा सुरक्षा र स्कर्टिङमा डा रिजाल कार्यक्रमस्थल पुग्नुभयो ।

सो क्रममा झडप हुनसक्ने आशङ्काले ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो । शिलान्यास पछि काङ्ग्रेस नेता रिजालले लोकतन्त्रमा विरोध गर्न पाइने भए पनि कसैलाई अवरोध गर्न नपाईने बताउनुभयो ।

 

प्रतिक्रिया