शुक्रबार, असार २०, २०८२

विप्लवसँग वार्ता गर्न सरकारद्वारा टोली गठन

नेपालखोज २०७७ फागुन १८ गते १३:०७

काठमाडौं । सरकारले प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहसँग वार्ता गर्न टोली गठन गरेको छ । गृहमन्त्री राम बहादुर थापा बादलको संयोजकत्वमा प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई सदस्य रहने गरि दुई सदस्य वार्ता टोली गठन गरेको हो ।

हिंसात्मक तथा आतंककारी गतिबिधि गरेको भनी सरकारले २०७५ फागुन अन्तिम साता विप्लव समूहमाथि प्रतिबन्ध लगाएको थियो।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री पार्वत गुरुङले भने, ‘चन्द समूहले वार्ता टोली गठन गरेमा चाँडै वार्ता हुने सरकारको अपेक्षा छ । हतियार मुद्दालगायतका विषय वार्ताबाटै टुंगो लाग्नेछ ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले केही समययता चन्दसँग वार्ता हुन लागेको संकेत गरिरहेका थिए ।

सोमबार मात्रै पोखरामा प्रधानमन्त्री ‌ओलीले चन्द समूहलाई शान्तिपूर्ण रुपमा मूलधारको राजनीतिमा आउन आग्रह गरेका थिए । त्यसअघि चन्दले फागुन ८ गते विज्ञप्ति निकालेर सहज वातावरण बनेमा आफ्नो पार्टी नेकपा सरकारसँग वार्ताका लागि सकारात्मक रहेको बताएका थिए ।

झण्डै २० महिनाअगाडि सरकारले चन्दसहितका सशस्त्र समूहसँग छलफलका लागि सोमप्रसाद पाण्डे संयोजक, सुरेश आलेमगर र लीला भण्डारी सदस्य रहेको वार्ता समिति बनाएको थियो । तर, चन्द समूह आउन नमानेपछि ६ महिनामै सरकारी वार्ता टोली भंग भएको थियो ।

प्रतिक्रिया