प्रधानमन्त्री ओलीले आइतबार कोरोना खोप लगाउने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन् । शनिबार आयोजित एक कार्यक्रममा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार बिहान १० त्रिवि शिक्षण अस्पतालमा गएर कोरोना खोप लगाउने जानकारी दिए ।
प्रधानमन्त्री ओलीले खोप लगाएर आइतबारदेखि सुरु हुने दोस्रो चरणको खोप अभियानको उद्घाटन गर्ने पनि मन्त्री त्रिपाठीले बताए ।
सरकारले आइतबारबाट हुने दोस्रो चरणको अभियानमा ६५ वर्षमाथिका वृद्धवृद्धालाई मात्रै कोरोना भाइरसविरुद्धको खोप दिने भएको छ । यसअघि ५५ वर्षमाथिका नागरिक, विद्यालयका शिक्षक, सार्वजनिक यातायातमा काम गर्ने चालक र सहचालकलाई कोरोनाविरुद्धको खोप लगाउने घोषणा गरिएको थियो ।
५५ वर्षमाथिका सबैलाई खोप नपुग्ने भएकाले अहिले ६५ वर्षमाथिकालाई मात्रै लगाउने निर्णय भएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा। झलक गौतमले बताए । मन्त्रालयले दोस्रो प्राथमिकताको दोस्रो चरणमा ५५ वर्षमाथिका व्यक्तिहरूलाई खोप उपलब्धताका आधारमा क्रमशः खोप दिने व्यवस्था मिलाउने जनाएको छ । हिमाली जिल्लामा भने ५५ वर्षमाथिका सबैलाई खोप लगाउन सकिने मन्त्रालयले निर्णय गरेको छ ।
प्रतिक्रिया