इंग्ल्यान्डलाई हराउँदै भारत फाइनलमा

एजेन्सी । भारतले इंग्ल्यान्डलाई चौथो टेष्ट खेलमा २५ रनको इनिङ अन्तरले पराजित गर्दै आइसिसी विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको छ ।
पहिलो इनिङमा १ सय ६० रनले पछि पारेको इंग्ल्यान्ड दोस्रो इनिङमा १ सय ३५ रनमा अल आउट भएपछि इनिङ अन्तरले पराजित भयो । चार टेष्टको सिरिज भारतले ३–१ ले जित्दै फाइनलमा पुगेको छ ।
दोस्रो इनिङमा इंग्ल्यान्डका ड्यान लरेन्सले ९५ बलमा ६ चौका सहित सर्वाधिक ५० रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । कप्तान जो रुटले सर्वाधिक ३० रनमा आउट भए । बेन फोक्स १३ र ओली पोप १५ रनमा आउट भए । इंग्ल्यान्डका ७ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । ज्याक क्रली ५, डोम सिब्ले ३, जोनी बेयरस्टो शून्य र बेन स्टोक्स २ रनमा आउट भए । भारतका स्पिनर रविचन्द्रन आश्विन र अक्षर पटेलले ५–५ विकेट लिए ।
त्यसअघि भारत पहिलो इनिङमा ११४.४ ओभरमा ३ सय ६५ रनमा अल आउट हुँदै १ सय ६० रनको अग्रता लिएको थियो । भारतका विकेटकिपर ऋषभ पन्त १ सय १८ बलमा १३ चौका र २ छक्का सहित १ सय १ रनमा क्याच आउट भए ।
त्यसअघि नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्ड पहिलो इनिङमा ७५.५ ओभरमा २ सय ५ रनमा अल आउट भएको थियो । इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्सले १ सय २१ बलमा ६ चौका र २ छक्का सहित सर्वाधिक ५५ रनको योगदान दिए । तल्लोक्रमका ब्याट्सम्यान ड्यान लरेन्सले ७४ बलमा ८ चौका सहित ४६ रन जोडे । जोनी बेयरस्टो २८ र ओली पोप २९ रनमा आउट भए । अन्य ब्याट्सम्यानको प्रर्दशन सम्झन लायक रहेन ।
भारतका स्पिनर अक्षर पटेलले सर्वाधिक ४ विकेट लिए । रविचन्द्रन आश्विनले ३ र मोहम्मद सिराजले २ विकेट लिए । वासिन्टन सुन्दरको नाममा १ विकेट रह्यो ।
भारत पहिलो खेलमा २ सय २७ रनले पराजित भएको थियो । भारत दोस्रो खेलमा ३ सय १७ रन र तेस्रो खेलमा १० विकेटले विजयी भएको थियो । विश्व टेष्ट च्याम्पियनसिपको फाइनल आगमी जुनमा लर्ड्समा हुने छ । फाइनलमा भारत र न्युजिल्यान्डबीच प्रतिस्पर्धा हुने छ ।
प्रतिक्रिया