‘हिंसामा रहेकाहरु शान्ति प्रक्रियामा आइसकेकाले सुखी नेपाली समृद्ध नेपालको यात्रा थप सहज’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिंंसामा रहेकाहरु शान्ति प्रक्रियामा आइसकेकाले सुखी नेपाली समृद्धि नेपालको यात्रा थप सहज भएको बताएका छन् ।
राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको वार्षिकोत्सव कार्यक्रममा प्रधानमन्त्री ओलीले सीके राउततर्फ लक्षित गर्दै देशमा पृथकतावादी माग राख्नेहरु र विप्लवतर्फ संकेत गर्दै हिंंसामा रहेकाहरु शान्ति प्रक्रियामा आइसकेकाले सुखी नेपाली समृद्धि नेपालको यात्रा थप सहज भएको बताए । यसलाई कसैको विजय र पराजय भन्दा पनि सबैको विजयको रुपमा लिनुपर्ने उनको भनाइ छ ।
त्यस्तै, नेपाली सेनालाई जबरजस्ती विवादमा तान्ने प्रयास भइरहेको भन्दै प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरेका छन् । राष्ट्रिय सुरक्षा र विकास निर्माणमा महत्त्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेको नेपाली सेनालाई विवादमा ल्याउने र अपमान गर्ने प्रयास भइरहेको भन्दै त्यस्ता प्रयासलाई विफल पार्नुपर्ने उनले बताए ।
सेनाले अनुशासनपूर्वक संविधानमा भएको अधिकार र सरकारले दिएको जिम्मेवारी पूरा गरेपनि जबरजस्ती विवादमा ल्याउने कोसिस भइरहेको ओलीको भनाइ छ । अप्ठ्यारा विकास निर्माणका काममा नेपाली सेना नै चाहिने भन्दै प्रधानमन्त्री ओलीले सेनाले गरेका कामको प्रशंसा गरेका छन् ।
‘जहाँ अप्ठ्यारो पहरा हुन्छ, त्यहाँ नेपाली सेना चाहिन्छ, सेनाले निकै जोखिमपूर्ण र कठिन मानिएका निर्माण कार्य सम्पन्न गरेको छ, यसमा सेनालाई प्रशंसा गर्नुपर्छ’, ओलीले भने।
प्रतिक्रिया