कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले कमलपोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी गरेको छ । पोखरीको पहिलो चरणरको पुनर्निर्माण यही चैत मसान्तसम्ममा सम्पन्न गर्ने र पोखरीमा पानी भर्ने तयारी रहेको महानगरपालिकाले जानकारी गराएको छ ।
नगर प्रमुख विद्यासुन्दर शाक्यले कामको प्रगतिबारेमा जानकारी दिँदै पोखरी पुनर्निर्माणको काम ७० प्रतिशतभन्दा बढी सम्पन्न भएको र अबको केहि दिनमै पोखरीमा दुई करोड ५० लाख लिटर पानी भर्ने तयारी रहेको जानकारी दिए ।
साथै उनले हल्ला गरेजस्तो गरेर पोखरीको बीचमा कङ्क्रिटको कमल नराख्ने र पोखरी शतप्रतिशत वास्तुशास्त्रमा आधारित हुने बताए । त्यस्तै पोखरीको चार कुनामा आकर्षक र संस्कृति झल्किने चारवटा मण्डप तथा पूर्वतिर मूलढोकासँगै एउटा गरी पाँचवटा मण्डप रहने छ ।
वडा नं १ मा पुनर्निर्माण भइरहेको कमलपोखरीमा करिब रु छ करोड ३६ लाखको लगानी छ । पोखरी करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको छ । कमलपोखरीमा नौवटा चैत्य रहनेछन् भने पोखरी छिर्ने द्वारलाई नेपाली स्वरुप दिइने छ ।
पोखरी निर्माणमा नेपाली इँटा र दर्शनढुङ्गा प्रयोग गरिने छ । पोखरी आसपासमा नेपालीपन झल्काउन झिङ्गटीका छानायुक्त संरचना हुनेछन् । पोखरीमा पाँचवटा मकरधारा निर्माण गरिने योजना छ ।
प्रतिक्रिया